• १६ भदौ २०८१, आइतबार

सांस्कृतिक वैभवलाई आर्थिक उपार्जनसँग जोडौँ: ऊर्जामन्त्री भुसाल

blog

मतदातासँग भाेट माग्ने क्रममा सम्मानित हुँदै मन्त्री भुसाल

गाेरखापत्र अनलाइन

ललितपुर, कात्तिक २१ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सांस्कृतिक वैभवलाई आर्थिक उपार्जनसँग जोडेर समृद्ध नेपाल बनाउन सकिने बताउनुभएको छ । 

वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट ललिततुर क्षेत्र नं ३ को साझा उम्मेदवार रहनुभएकी मन्त्री भुसालले यहाँको मूर्त तथा अमूर्त कला संस्कृतिको संरक्षणमा उल्लेख्य भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

केपी शर्मा ओली नेतृत्वको सरकारले कुनै पनि गुठियारसँग छलफल नगरी एकलौटी रुपमा संस्कृतिमाथि अतिक्रमण गर्ने गरी गुठी विधेयक ल्याउँदा आफूले संसदमा प्रतिरोध गरेको स्मरण गर्दै उहाँले भन्नुभयो, “मैले त्यतिबेला पनि संसदमा गुठियारसँग छलफल नगरी ल्याएको विधेयक फिर्ता गर्न र सम्बन्धित पक्षसँगको समन्वयबाट मात्र विधेयक अगाडि बढाउन आग्रह गरेको यहाँहरुले सुन्नुभएकै छ ।”

ललितपुर महानगरपालिका वडा नं २० र १० भित्र आयोजित घरदैलो कार्यक्रममा उहाँले सांस्कृतिक नगरीका रुपमा रहेको ललितपुरमा पर्यटकीय सम्भावना उच्च रहेको र यसको अधिकतम सुदपयोग गर्नुपर्ने बताउनुभयो ।

ललितपुरवासीको समृद्धिको आकाङ्क्षा पूरा गर्ने अभिभावकीय जिम्मेवारी निर्वाह गर्ने उद्देश्यले आफू फेरि निर्वाचनमा आएको जनाउँदै उहाँले नगरवासीको चाहना पूरा गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

काठमाडौँ उपत्यकामा रहेको शुद्ध पिउने पानीको समस्या समाधान गर्न आफूले निरन्तर पहल गर्दै आएको स्मरण गराउँदै उम्मेदवार भुसालले खानेपानी समस्याको दीर्घकालीन समाधान खोज्न आफू लागिपर्ने बताउनुभयो ।

राजधानीभित्रै रहे पनि आफ्नो क्षेत्रमा खानेपानी, बेरोजगारी, अव्यवस्थित शहरीकरणलगायत समस्यालाई आफूले नजिकबाट नियालेर समाधान गर्न प्रयत्न गरेकाे बताउनुभयाे ।

मन्त्री भुसालको पहलमा ललितपुरका प्रायः जसो टोलबस्तीमा भित्री सडक, पुल, ढल, खानेपानी, विद्यालय, स्वास्थ्य चौकीलगायत सडक निर्माण र स्तरोन्नति भएका छन् ।

सहकारी र रोजगारीका क्षेत्रमा पनि उल्लेख्य काम भएका छन् । घरदैलो अभियानका क्रममा उहाँले आफूले यसअघि थालनी गरेको विकासका कामलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।