• १३ साउन २०८१, आइतबार

नमुना मतदानमा २३ प्रतिशतसम्म मत बदर

blog

बझाङ समाचारदाता 

बझाङ, कात्तिक २२ गते । जिल्ला निर्वाचन कार्यालय बझाङले जिल्लाका विभिन्न छवटा मतदान केन्द्रमा नमुना मतदान गरेको छ । सो मतदानमा ११ देखि २३ प्रतिशतसम्म मत बदर भएको छ । जिल्लाका विभिन्न छवटा मतदान केन्द्रमा गरिएको नमुना मतदान प्रक्रियामा स्थानीयलाई सहभागी गराइएको थियो । 

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचन शिक्षा नहुँदा जिल्लामा बदर मतको सङ्ख्या धेरै भएको थियो । जिल्लाको बुङ्गल नगरपालिकाको बिजगडा, सुर्मा गाउँपालिकाको दौलीचौर, खप्तडछान्ना गाउँपालिकाको पाटादेबल, थलारा गाउँपालिकाको पिखेत, दुर्गाथली गाउँपालिकाको चौधारी र बित्थड सचिर गाउँपालिकाकोे देलेखमा नमुना मतदान गरिएको जनाइएको छ ।

जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतमका अनुसार स्थानीय तहको निर्वाचनको सरदर बदर दर र नमुना मतदानको बदर दर उस्ताउस्तै आएको छ । निर्वाचन शिक्षालाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएकाले पालिकाको समन्वयमा प्रत्येक वडामा एक जना महिला स्वयंसेविकालाई छनोट गरेर निर्वाचन शिक्षा दिइरहेको बताइन्छ ।

स्थानीय तहको निर्वाचनमा समेत ३ देखि २३ प्रतिशतसम्म मत बदर भएको थियो । स्थानीयलाई मतदान प्रक्रिया, मतदाता शिक्षाबारे जानकारी गराउन दुई साताको अवधि तोकिएको छ । 

प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालका अनुसार नमुना मतदानमा स्थानीयको उल्लेख्य सहभागिता भएको छ । सुरुका दिनमा जसले जता हाले पनि हुन्छ भनेर मतदान गरेका कारण बढी मत बदर भएको उहाँले बताउनुभयो । 

उहाँले अहिले जिल्लाभरि मतदाता शिक्षालाई विशेष जोड दिएर अनुगमनसमेत भइरहेको बताउनुभयो । जिल्लामा १२ वटा स्थानीय तहका ९४ वडामा महिला स्वयंसेविकामार्फत निर्वाचन शिक्षा सञ्चालन गरिएको जनाइएको छ ।