• १३ साउन २०८१, आइतबार

मतदातालाई पुरानै आश्वासन

blog

जनार्जन खत्री 

सर्लाही, कात्तिक २२ गते । निर्वाचन नजिकिँदै जाँदा सर्लाहीका मतदाताले अघिल्लो निर्वाचनमा उम्मेदवारबाट पाएको आश्वासन अझै पूरा नभएको गुनासो गरेका छन्। 

जिल्लामा वर्षौंदेखिको समस्या ज्युँका त्युँ रहेको मतदाताको भनाइ छ। विशेष गरी यहाँ हुलाकी सडकको समस्या समाधान नहुँदा मतदातामा नैराश्यता बढी देखिएको छ। गोडैता नगरपालिका–७, का स्थानीय सञ्जित दासले प्रत्येक निर्वाचनमा उम्मेदवारले हुलाकी सडकको एजेन्डा उठाए पनि सडकको अवस्था भने सुधार हुन नसकेको बताउनुभयो। “हुलाकी सडकको अवस्था हेर्दा हामीलाई नै लज्जा महसुस हुन्छ तर यहीँबाट चुनाव जितेर गएका उम्मेदवार फेरि हुलाकी सडकलाई मुद्दा बनाएर मत मागिरहनुभएको छ,” दासले भन्नुभयो, “यो सडक त चुनावी एजेन्डा मात्रै बन्यो, कहिल्यै कालोपत्रे हुन सकेन।” 

नयाँ उम्मेदवारले समेत पुराना उम्मेदवारले हुलाकी सडक बनाउन नसकेको र अब आफूलाई विजयी गराए कालोपत्रे हुने आश्वासन दिइरहेका छन्। यसअघिको चुनावमा विजयी भएर पुनः चुनावी मैदानमा रहेका उम्मेदवार पाँच वर्षअघि नै कालोपत्रे गर्ने आश्वासन दिएको त्यहीँ अलपत्र हुलाकी सडकमा धुलो उडाउँदै मत मागेर हिँडिरहेका छन्। 

हरिपुर नगरपालिका–९, पिडारीका पानोदेवी माझीले पटक–पटकको निर्वाचनमा लखन्देही खोलामा पुल निर्माण गर्छु भनी मत मागे पनि खोलामा पुल निर्माण हुन नसकेको दुखेसो पोख्नुभयो। पिडारी र जानकी नगरलाई जोड्ने लखन्देही खोलामा पुल नहुँदा स्थानीय पानीमा हेलिएर खोला तर्न बाध्य भइरहेका छन्। 

“हाम्रो समस्या जस्ताको त्यस्तै छ तर उम्मेदवार फेरि पुल बनाउँछौँ, अब खोला बाढीमा हेलिनु पर्दैन भन्दै मत माग्न आइरहेका छन्, उनीहरूको भनाइलाई कसरी विश्वास गर्नु ?” माझीले प्रश्न गर्दै भन्नुभयो। माझीले जनप्रतिनिधि निर्वाचित भएर आएपछि पनि आफूहरू जस्ता माझी मुसहरको समस्या ज्युँका त्युँ रहेको गुनासो गर्नुभयो। 

जिल्लामा अधिकांश मतदाताले यसअघि नै आश्वासन पूरा नभएको भन्दै यो पटक मतदानका लागि उत्साह नै नरहेको तर्क गरेका छन्। सदरमुकाम मलङ्गवा निवासी नागरिक समाज सर्लाहीका अध्यक्ष उग्रकान्त झाले चुनाव जितेर गएका प्रतिनिधिले नागरिकको समस्याप्रति बेवास्ता गर्दा आम नागरिकमा नैराश्य बढेको बताउनुभयो। 

“यहाँ सडक नबनेको, सहज रूपमा मलखाद नपाएको, उखु किसानले मूल्य नपाएको जस्ता कयौँ समस्या छन्, यस्ता समस्या समाधान नहुँदा नागरिकमा यो पटकको निर्वाचनमा खासै उत्साह देखिँदैन्,” नागरिक समाजका अध्यक्ष झाले भन्नुभयो। सर्लाहीबाट चुनाव जितेर गएका नेताहरू पटक–पटक सत्तामा जाँदासमेत जिल्लाभित्र खासै उपलब्धि हुन नसकेको भन्दै नागरिक स्तरबाट गुनासो आइरहेको झाले बताउनुभयो। 

सर्लाहीमा पाँच वर्षअघि चुनाव जितेर जानुभएका चार जना सङ्घीय सांसदमध्ये तीन जना यो पटक चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ। क्षेत्र नं. ३ बाट निर्वाचित हुनुभएका रामेश्वर राय यादवबाहेक क्षेत्र नं. १ बाट निर्वाचित प्रमोद साह, क्षेत्र नं. २ बाट निर्वाचित महिन्द्र राय यादव र क्षेत्र नं. ४ बाट निर्वाचित डा. अमरेशकुमार सिंह यो पटक चुनावी मैदानमा हुनुहुन्छ। 

उहाँहरू सहित जिल्लामा प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका ६९ जना उम्मेदवार मत माग्दै घरदैलो कार्यक्रममा व्यस्त रहनुभएको छ।