• ९ मंसिर २०८१, आइतबार

पूर्वसहकर्मी चुनावी मैदानमा

भुसाल र विश्वकर्माबीच रस्साकस्सी

blog

गोविन्द रेग्मी / छविलाल पाण्डे

रुपन्देही (बुटवल), कात्तिक २२ गते । एक महिनाअघिसम्म घनश्याम भुसाल र छविलाल विश्वकर्मा नेकपा (एमाले)का खम्बा हुनुहुन्थ्यो। फुटबल मैदानमा एउटै टोलीबाट गोल हान्न तयार दुई ‘स्ट्राइकर’ जस्तै। एमालेको १०औँ महाधिवेशनमा छविलाल सचिवमा निर्विरोध निर्वाचित हुनुभयो, भुसाल उपाध्यक्षमा पराजित हुनुभयो। पराजित भए पनि भुसाल स्थायी कमिटीमा पुग्नुभयो। २०६५ मा बुटवलमा भएको एमालेको आठौँ महाधिवेशनबाट भुसाल र छविलाल केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै दुवै जना पोलिटब्युरो सदस्य बन्नु अर्को संयोग थियो। 

तर, गत असोज २२ गतेपछि भुसाल र छविलालको परिचय बदलिएको छ। हिजो एउटै पार्टीका सहकर्मी उहाँहरू अहिले एकाएक विपरीत टोलीका खेलाडीका रूपमा चुनावी मैदानमा देखिनुभएको छ। यी स्ट्राइकरद्वयलाई मङ्सिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा अग्रपङ्क्ति र रक्षापङ्क्ति एक्लै सम्हाल्नुपर्ने अवस्था छ। नेकपा (एमाले)ले भुसाललाई प्रतिनिधि सभा निर्वाचनमा टिकट दिएन र भुसालले आशा गरेको रुपन्देही–१ मा छविलाललाई उम्मेदवार बनायो। 

नेकपा (एमाले)ले संसद् विघटनको विपक्षमा उभिने पार्टीका नेतालाई टिकट नदिने नीति अख्तियार गरेपछि पार्टीमा तरङ्ग देखियो। एमालेभित्र वैचारिक नेताको छवि बनाउनुभएका भुसालले तत्काल (असोज २२ गते) पार्टी नै परित्याग गरेको घोषणा गर्नुभयो। एमालेबाट टिकट नपाएपछि पार्टीमा विद्रोह गर्नुभएका भुसालले रुपन्देही–१ मै स्वतन्त्र उम्मेदवारी दिनुभएको छ। 

भुसाललाई पाँचदलीय गठबन्धनको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले समर्थन गरेको छ। यता एमालेका छविलाललाई जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को साथ रहेको छ। लामो समय एउटै पार्टीमा रहनुभएका यी दुई नेता प्रतिनिधि सभा निर्वाचनमा आमनेसामने भएपछि यहाँको चुनावी माहोल थप रोचक बनेको हो। रुपन्देही–१ को चुनावी चर्चा अहिले देशैभरि चुलिएको छ। 

दुवै नेता मत माग्न चुनावी घरदैलो कार्यक्रममा सक्रिय हुनुहुन्छ। हिजोसम्म देशमा एउटै कम्युनिस्ट बनाउने अभियानमा लाग्नुभएका उहाँहरू चुनावी प्रचारमा अहिले विपरीत मञ्चबाट एकअर्काको खरो आलोचनामा उत्रिनुभएको छ। घरदैलो कार्यक्रममा कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा भुसालले एमाले पार्टी र अध्यक्ष केपी शर्मा ओलीको चर्को विरोध गरिरहनुभएको छ। यता छविलालले पनि घरदैलो कार्यक्रममा भुसाललाई अवसरवादीको संज्ञा दिँदै हिँड्नुभएको छ। 

यी दुई नेताले निर्वाचनमा आफ्नो जित सुनिश्चित भएको दाबी गर्नुभएको छ। निरङ्कुशताको पक्षधर ओली र एमालेसँग चुनाव जित्ने हैसियत नभएको आरोप भुसालले लगाउनुभयो। भुसालले सोमबार मात्र आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ। यसैगरी छविलालले पनि आफ्नो जित सुनिश्चित भइसकेको बताउनुहुन्छ। “घरदैलो कार्यक्रममा मतदाताले म माथि ठूलो सहानुभूति देखाउनुभएको छ। एमालेमा टिकट नपाएर भाग्नेले जित्छु भन्नु आत्मरति मात्र हो,” छविलालले भन्नुभयो। 

प्रतिनिधि सभा निर्वाचनमा यी दुवै उम्मेदवार नयाँ र नौला भने हुनुहुन्न। अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा भुसाल एमालेबाट रुपन्देही–३ को उम्मेदवार हुनुहुन्थ्यो। उहाँले त्यतिबेला राप्रपाका दीपक बोहोरालाई पाँच हजार ४४४ मतले पराजित गर्नुभएको थियो। भुसालले ३२ हजार ८६६ मत र बोहोराले २७ हजार ४२२ मत पाउनुभएको थियो। त्यतिबेला पराजित बोहोरा अहिले एमालेकै समर्थनमा रुपन्देही–३ बाट कांग्रेस नेता एवं नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाणसँग चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ। 

छविलाल भने अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही–१ बाट विजयी हुनुभएको थियो। त्यतिबेला छविलालसँग पराजित कांग्रेसका अब्दुल रज्जाक अहिले गठबन्धनको समर्थनमा रुपन्देही–१ प्रदेश सभा (ख)बाट चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ। 

रुपन्देही–१ अन्तर्गत प्रदेश सभा (क)बाट कांग्रेस पार्टीका विश्वनाथ यादव चुनावी मैदानमा हुनुहुन्छ। यस्तै एमालेबाट प्रदेश सभा (क)मा राप्रपाका आशिष चौधरी र (ख)मा एमालेका दधिराम न्यौपाने चुनावी मैदानमा हुनुहुन्छ। भुसालको स्वतन्त्र उम्मेदवारीले रुपन्देही–१ को चुनावी नतिजा आकलन गर्न कठिन भएको स्थानीयको भनाइ छ। 

“यस क्षेत्रमा पहिला एमालेको बलियो प्रभाव थियो। पार्टीभित्रको असन्तुष्टिले यहाँ नेतामा मात्र होइन कार्यकर्तामा पनि विचलन देखिएको छ। अन्योलमा रहेका कार्यकर्ताले मत कता खसाल्छन् भन्न सकिन्न,” वरिष्ठ पत्रकार यमलाल भुसाल भन्नुहुन्छ। स्थानीय चुनावमा एमालेले सत्तारूढ गबन्धनले भन्दा धेरै मत ल्याएको थियो। एमाले, जसपा र राप्रपाको एकमुष्ट मत कांग्रेस, माओवादी र एकीकृत समाजवादीको भन्दा करिब १० हजारले धेरै छ। तर, स्थानीय निर्वाचनको मत दुरुस्तै प्रतिनिधि सभाका उम्मेदवारलाई नजाने पनि पत्रकार भुसालले बताउनुभयो। 

बाहिर देख्दा छविलाल बलियो देखिए पनि एमाले देवदह नगर कमिटीका पूर्वअध्यक्ष टीकाराम चापागाईंले यही क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका कारण छविलाललाई चुनौती हुन सक्ने पत्रकार भुसालले बताउनुभयो। अघिल्लो निर्वाचनमा छविलाललाई जिताउन सक्रिय भूमिका खेल्नुभएका चापागाईं स्थानीय निर्वाचनमा देवदह नगरपालिका प्रमुखको टिकट पाउने आशामा हुनुहुन्थो। स्थानीय निर्वाचनको टिकट वितरणले नगर कमिटीहरूमा देखिएको अन्तरविरोधले पनि परिणाम फरक हुनसक्छ। पूर्वसहकर्मीबीचको चुनावी मैदानमा कस्ले गोल मार्छ ? त्यसका लागि मङ्सिर ४ गते नै कुर्नुपर्ने अवस्था छ।