वैदिक शिक्षाको आधारमा नै आधुनिक शिक्षाले निरन्तरता पाइरहेको छ। वेदको रचना हजारौँ वर्षअघिदेखि ऋषिमुनिहरूले भन्दै आएका कुरा हुन्। यिनै भनाइलाई वेदव्यासले लिपिबद्ध गरेका थिए। आर्यावर्त, हिमवत्खण्ड उद्गम रहेको चार वेद आर्यका ज्ञानका स्रोत थिए। वेदमा आर्यलाई ज्ञानी समुदाय वा सिद्धान्त भनी व्याख्या गरिएको छ। सबै समुदायका व्यक्ति तिनका बुद्धि र क्षमताको सफलतापूर्वक प्रयोग गर्नेलाई आर्य भनिन्थे। मानव सभ्यताका सबैभन्दा प्राचीन ग्रन्थ वेद हो भने त्यसमा पनि ऋग्वेद सबैभन्दा प्राचीन ग्रन्थ हो। दस मण्डल र १,०१७ सूत्रमा विभाजित ऋग्वेदमा राजनीति, कूटनीति, आचार, विचार, परम्पराको पद्यात्मक व्याख्या गरिएको छ। यसमा समष्ठिगत रूपमा आर्यहरूको जीवनशैली र ज्ञानलार्ई परिभाषित गर्ने प्रयास गरिएको छ।
वेदको दोस्रो शाखाका रूपमा सामवेदको रचना भयो। यसको रचना यज्ञ–यज्ञाधि अनुष्ठानका निम्ति गरिन्छ। यसका धेरैजसो मन्त्र ऋग्वेदबाट लिइएका छन्। सामवेदपछि ज्ञानको तेस्रो शाखाका रूपमा यजुर्वेदको रचना भयो। यसको एक शाखालाई शुक्ल यजुर्वेद भनिन्छ। यसका ४० अध्याय छन्। आयुर्वेदको उत्पत्ति पनि यजुर्वेदबाट भएको हो। वेदको चौथो रूप अथर्ववेदमा अन्धविश्वास र जादुटोनासम्बन्धी क्रियाकलाप गराइन्छ। यसमा आयव्ययसम्बन्धी तथ्याङ्कको विश्लेषण पनि गरिएको छ। वेदपछि पुराण, उपनिषद्, ज्यामितिय, कौसितको र यतरेव ब्राह्मणका साथै छन्दोग्य, केन, मित्रामणि, कठ, स्वेतास्वतर, वृहदारन्यक, इशा, सूत्र, स्रोतसूत्र, गृहसूत्र, छन्द, व्याकरण, निरुत्त, ज्योतिष, रामायण, महाभारत, भागवत क्रमशः लेखिँदै गए र समाज र राष्ट्रलाई दीक्षित गर्दै गए।
वैदिक कालमा आश्रम र गुरुकुलमा शिक्षा दिँदा गुरु र शिष्यका बीचमा पिता र पुत्रको जस्तो सम्बन्ध हुन्थ्यो। शास्त्रहरू कण्ठ गर्नु पर्दथ्यो। पूजापाठ मन्त्रोच्चारणबाट गरिन्थ्यो। पुरोहित वर्गले पूजापाठबाट अनुष्ठान पूरा गर्दथे भने अन्य वर्गले धनुवाणमा प्रशिक्षण लिने गर्दथे। वैदिक शिक्षा अनुसन्धानमूलक र सिर्जनात्मक थिए। त्यसैको परिणामस्वरूप आधुनिक युगमा नयाँनयाँ वैज्ञानिक अन्वेषण र अनुसन्धान हुन थाल्यो। त्यसकारण वैदिक शिक्षाको माग बढ्न थालेको छ। संस्कृत शिक्षाप्रतिको मोह यसैको परिणाम हुन्। लिच्छविकाल तथा त्यसपछिका शिलालेख तथा अन्य ऐतिहासिक सामग्रीमा उत्कृष्ठ वाक्यबाट यस कुराको प्रमाण पाइन्छ।
लिच्छविकालमा शिक्षाको विकासका निम्ति गुठीहरूको स्थापना भएको थियो। पानीय गोष्ठी, प्रणाली गोष्ठी, ध्वज गोष्ठी, प्रवहण गोष्ठी, अर्चा गोष्ठी, अर्चनिय गोष्ठी र मल्ल युद्ध गोष्ठी शिक्षासँग सम्बन्धित गोष्ठी हुन्। पानीय गोष्ठी पानीसँग सम्बन्धित भए पनि यस गोष्ठीले पानीसँग सम्बन्धित शिक्षा पनि प्रदान गर्दथ्यो। यसले पानीको शुद्धता राख्न जनचेतना जगाउँथ्यो। प्रणाली गोष्ठीले धारा कुवा बनाउने प्राविधिक शिक्षा प्रदान गर्दथ्यो। ध्वज गोष्ठीले थरी थरीको झन्डा बनाउने प्रशिक्षण गर्दथ्यो। प्रवहण गोष्ठीले यातायात तथा यातायातका साधनसम्बन्धी प्रशिक्षण दिने गर्दथ्यो। अर्चा गोष्ठीले शिक्षा संस्थासम्बन्धी व्यवस्था गर्दथ्यो। अर्चनिय गोष्ठीले अध्ययन अध्यापनसम्बन्धी प्रशिक्षण दिने गर्दथ्यो। मल्लयुद्ध गोष्ठीले युद्धसम्बन्धी प्रशिक्षण प्रदान गर्दथ्यो। यसले कुस्तीसम्बन्धी प्रशिक्षण पनि प्रदान गर्दथ्यो।
शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्र, सानोठिमीले प्राथमिक तह कक्षा १ देखि ५ सम्मको गुरुकुल शिक्षाको पाठ्यक्रम तयार गरी कार्यान्वयनसमेत गरेको छ। उक्त पाठ्यक्रमको उद्देश्य र महत्व सम्बन्धमा पाठ्यक्रम विकास केन्द्र लेख्दछ, नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक देश भएकाले यहाँ हिन्दु, बुद्ध, किराँत, इस्लाम, क्रिस्चियन, जैनलगायतका विभिन्न धर्मावलम्बी रहेका छन्। यस्ता धार्मिक मूल्य मान्यताका साथै सम्बन्धित समाजको आफ्नो मौलिक, सामाजिक, सांस्कृतिक पक्षबाट प्रभावित भई परम्परागत रूपमा चलिआएका शैक्षिक प्रणालीमध्ये नेपालमा गुम्बा, गुरुकुल, मदरसा मुख्य रूपमा रहेका छन्। गुम्बा, गुरुकुल र मदरसाजस्ता शिक्षा प्रणाली मूलतः सम्बन्धित शिक्षा प्रणालीकै रूपमा आफ्नै निजी प्रयासमा नै व्यवस्थापन हँुदै आफ्नै साधनस्रोत एवं आफ्नै विशिष्ट शैक्षिक प्रक्रियाका आधारमा सञ्चालन भइरहेका छन्। यी शिक्षा प्रणालीमध्ये गुरुकुल शिक्षा प्रणाली पनि एक महत्वपूर्ण प्रणाली हो।
चार वेदमध्ये यजुर्वेद पनि शुक्ल र कृष्ण गरी दुई भागमा विभक्त छन्। दक्षिण भारतमा कृष्ण यजुर्वेदको अध्ययन र अध्यापन हुन्छ भने उत्तर भारत र नेपालमा शुक्ल यजुर्वेदको अध्ययन, अध्यापन हुने गर्दछ। यजुर्वेदको मुख्य विषयमा यज्ञ, कर्म, उपासना र ज्ञान तथा विज्ञानका कुरा पर्दछन्। नेपालमा प्रचलित शुक्ल यजुर्वेद शाखाको आधारमा पाठ्यक्रम तयार पारिन्छ। शुक्ल यजुर्वेद पूरै पाठ गर्न एकै दिनमा एक व्यक्तिबाट सम्भव नभएकाले वेदका मुख्य मुख्य मन्त्रहरूको सङ्ग्रह गरी रुद्राष्ठाध्यायीका रूपमा प्रचलनमा आएको छ। नेपाली समाजमा व्रतबन्ध संस्कारपछि अनिवार्य रूपमा रुद्री पढाइन्छ। आज पनि धर्मकर्म गर्दा रुद्री पाठ गराउने चलन छ।
भगवान् शिवलाई खुसी पार्न रुद्री पाठ गराइएको हो। रुद्री पाठ रुद्र, लघुरुद्री, महारुद्री र अतिरुद्री नामले प्रख्यात छन्। वैदिक परम्पराअनुसार रुद्राभिषेकले मानव दिनचर्यामा महत्वपूर्ण स्थान राख्छ। मानव शरीरको रचना वैदिक परम्पराअनुसार हुँदै आएको छ। वैदिक शिक्षामा व्याकरण र नीति शास्त्रको पनि महत्वपूर्ण स्थान रहेको छ। पाणिनीय व्याकरणमा लौकिक तथा सांस्कृतिक नियमहरू पाइन्छन्। यही परम्पराअनुसार पाठ्यक्रममा पाणिनीय व्याकरणलाई समावेश गरिएको छ।
यसको मुख्य उद्देश्य व्याकरणलाई उच्च शिक्षासम्म पु¥याउन पूर्वाधार तयार पार्नु हो। वैदिक शिक्षामा नीति शास्त्रलाई पनि महत्व दिइएको छ। यसमा कर्तव्यपराणयता, नैतिकता, मर्यादा, अनुशासनजस्ता कुरा समावेश गरिएका हुन्छन्। यसरी गुरुकुल शिक्षाको प्रारम्भदेखि नै नैतिकवान् बनाउने प्रयास गरेको हुन्छ। गुरुले आफ्ना शिष्यलाई अनेक महान् पुरुषका जीवनी, कथा, गद्य र पद्य रूपमा सुनाएर नैतिकवान् हुन अभिप्रेरित गर्दछन्। त्यसै हुनाले वैदिक शिक्षा प्राप्त गर्ने बटुकलाई समाजले हेर्ने दृष्टिकोण फरक हुन्छ। यिनका जीवनशैलीबाट पनि समाजले प्रेरणा प्राप्त गर्दछ।
वैदिक शिक्षाले विज्ञानलाई कार्य र भाग्यसँग जोडेर नयाँ संसारको कल्पना गरेको छ। वैदिक शिक्षालाई अझै प्रयोगात्मक बनाई नयाँ युगमा प्रवेश गर्नु परेको छ। विश्वलाई शान्ति, सद्भाव र भौतिक र आध्यात्मिकतासँग जोड्नका निम्ति वैदिक शिक्षाको आवश्यकतालाई सबैले महसुस गरेका छन्। त्यसैले वैदिक शिक्षा आजको आवश्यकता हो र वैदिक शिक्षाको निरन्तरता आधुनिक शिक्षाको परिमार्जित रूप हो भन्न सकिन्छ।