• १९ असोज २०८१, शनिबार

खानी बन्द हुँदा सिमेन्ट उद्योग समस्यामा

blog

लीलाधर वली 

घोराही, कात्तिक २२ गते । दाङको घोराही सिमेन्ट उद्योगको खानी उत्खनन बन्द हुँदा उद्योगसँगै कामदार समस्यामा परेका छन्। १० महिनादेखि चुनढुङ्गा निकाल्ने काम रोकिएको छ। 

सम्झौताबमोजिम उद्योगले घोराही–मुर्कुटी सडकखण्डको तापा चोकदेखि चुनढुङ्गा खानीसम्मको तीन किलोमिटर सडक कालोपत्रे नगरेको भन्दै बङ्गलाचुली गाउँपालिकाले गत वर्षको पुस १ गतेदेखि टिप्पर सञ्चालनमा रोक लगाइएको हो। टिप्पर चल्न नपाएपछि चुनढुङ्गा निकाल्ने काम पनि रोखिएको हो। 

लामो समय टिप्पर सञ्चालन गर्न नदिएपछि कामदारलाई समस्या भएको खानी उत्खनन क्षेत्रमा काम गर्दै आउनुभएका बङ्गलाचुली गाउँपालिकाका भोजराज पन्तले गुनासो गर्नुभयो। “कमजोर आर्थिक अवस्थाका कारण भारतमा मजदुरी काम गर्दै थिए। गाउँमै रोजगारी मिलेपछि २०६६ सालदेखि खानीमै काम गरिरहेको थिए तर गाउँपालिका र उद्योगबीच सहमति नहुँदा एक वर्षदेखि उद्योग बन्द छ र हामी बेरोजगार बनेका छौँ,” पन्तले भन्नुभयो।

उद्योगमा करिब एक हजार र खानी क्षेत्रमा करिब ७० जनाले रोजगारी पाएका थिए। अहिले खानी क्षेत्रमा काम गर्दै आएका सबै र उद्योगमा काम गने धेरैजसो मजदुर बेरोजगार भएका छन्। खानी सञ्चालन हुँदा दैनिक दुई सयदेखि २५० वटा टिप्पर सञ्चालन हुने गरेको थियो।  लामो समयसम्म चुनढुङ्गा उत्खनन बन्द भएपछि घोराही सिमेन्ट उद्योगले ७० प्रतिशत उत्पादन कटौती गरेको उद्योगका जनसम्पर्क अधिकृत अमर सुवेदीले जानकारी दिनुभयो। “उद्योगका लागि आवश्यक कच्चा पदार्थ चुनढुङ्गा ल्याउन नपाउँदा उत्पादन घटाएका छौँ। यसरी नै गाउँपालिकाले चुनढुङ्गा ल्याउने काम रोकिराखे उद्योगसँगै कामदारलाई समस्या हुने अवस्था आएको छ,” सुवेदीले भन्नुभयो। 

टिप्पर सञ्चालनका लागि पटकपटक पहल गरे पनि निकास निस्कन नसकेको घोराही सिमेन्ट उद्योगले जनाएको छ। दैनिक पाँच हजार टन क्लिङ्कर र ८० हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको सो उद्योगमा ३२ अर्ब रुपियाँको लगानी रहेको छ। 

उद्योगले सहमतिअनुसार तीन किलोमिटर सडकमध्ये दुई किलोमिटर सडक ढलान गरिसकेको र बाँकी एक किलोमिटर सडक कालोपत्रे गर्ने तयारी रहेको उद्योगले जनाएको छ। 

जनसम्पर्क अधिकृत सुवेदीले भन्नुभयो, “वर्षाका कारण काम रोकिएको हो, छिट्टै सुरु हुन्छ।” 

बङ्गलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुनले यही कात्तिक १५ गते सूचना जारी गर्दै वर्षाका कारण सडकको विभिन्न ठाउँमा क्षति गरेको र ठूला सवारीसाधनले अझ धेरै क्षति हुने जोखिम रहेको भन्दै तत्कालका लागि ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको जानकारी दिनुभयो। 

बङ्गलाचुली गाउँपालिकाको चुनढुङ्गा खानीबाट चारवटा सिमेन्ट उद्योगले कच्चा पदार्थ ल्याउने गरेका छन्। यो खानीबाट सम्राट सिमेन्ट र सोना सिमेन्ट उद्योगलाई चुुनढुङ्गा ल्याउन दिइएको छ भने घोराही र अग्नि सिमेन्ट उद्योगलाई भने रोक लगाएको बताइएको छ।