• १९ असोज २०८१, शनिबार

सत्यवतीमा चिच्याएर बर माग्ने भक्तालुको भीड

blog

पाल्पाको सत्यवती मन्दिरमा भक्तजनले चिच्याएर वर माग्दै । तस्बिरः गोरखापत्र

तानसेन कात्तिक २२ गते । धेरैजसो मन्दिरमा भगवानसँग मनमनै वर तथा आशीर्वाद माग्ने गरिन्छ । तर पाल्पाको सत्यवती मन्दिरमा परम्परादेखि नै भक्तजनले चिच्याएर वर माग्दै गर्छन् । सत्यवती देवी कानले नसुन्ने भएकाले भक्तजनले चिच्याएर वर माग्ने चलन रहेको मन्दिरका पुजारी जानकारी दिनुभयो । 

कार्तिक २१ गते आज  सत्यवती बज्यैको मन्दिरमा चिच्याएर वर माग्ने भक्तजनहरूको भिड लागेको थियो ।  यस वर्ष सत्यवती बजैको दर्शन तथा पूजाआजा गर्न विशेष साइत जुरेकाले  गत वर्षभन्दा धेरै भक्तजन सहभागी हुने मन्दिर व्यवस्थापन समितिले जनाएको छ । 

यस वर्ष कार्तिक महिनामा चतुर्दशी र पूर्णिमा पर्ने सत्यवती बज्यैको दर्शन गर्ने उत्तम समय रहेको भक्तालु ६८ बर्षीया लक्ष्मी राना मगरले बताउनुभयो । साइत जुरेको समयमा सत्यवती बज्यैको दर्शन गरेमा मनको इच्छा पूरा हुने जनविश्वास रहेको छ । 

विगतका वर्षमा कार्तिक चतुर्दशीका दिन भक्तजन सत्यवती बज्यैको मन्दिरमा वास बस्ने, पूजा पाठ गर्ने, बिहान देवीसँग चिच्याएर वर मागी झिसमिसेमै फर्कने चलन आजकल परिवर्तन भएको छ । केही वर्षदेखि कात्तिक शुक्ल पक्षको त्रियादशीको दिनदेखि पूर्णिमासम्म रात दिन सत्यवती बज्यैको पूजा पाठ गरी चिच्याएर वर माग्ने परम्परा सुरु भएको छ । 

यस वर्ष साइत जुरेकाले मेलामा ६० हजार भक्तजनले सत्यवती बजैको दर्शन गर्ने गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले  बताउनुभयो । सत्यवती मन्दिर र ताललाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गरी स्थानीय श्रोत साधनको परिचालन गरी आर्थिक तथा सामाजिक एव सांस्कृतिक पक्षलाई माथि उठाउने गरी गाउँपालिकाले काम गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो  ।

Author

बिन्दु थापा