• १९ असोज २०८१, शनिबार

एक करोडभन्दा बढीको एसियन पेन्ट्स जफत

blog

काठमाडौँ, कात्तिक २२ गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ‘एसियन पेन्ट्स’ ब्रान्डको ठूलो परिणामको रङ जफत गरेको छ। 

विभागको अनुगमन टोलीले काठमाडौँ, सतुङ्गलस्थित एसियन पेन्ट्सको गोदामबाट म्याद गुज्रेका चार हजार ९६३ थान र रिलेबलिङ गरेका दुई हजार ६०९ थान एसियन ब्रान्डका पेन्ट्स फेला परेपछि जफत गरेको हो। 

विभागका अनुसार म्याद गुज्रेका चार हजार ९६३ थानको मूल्य ८२ लाख ५५ हजार ५४५ रुपियाँ र रिलेबलिङ गरेका दुई हजार ६०९ थानको मूल्य २६ लाख २४ हजार ९३७ रुपियाँ गरी कुल एक करोड आठ लाख ८० हजार रुपियाँको रङ जफत गरी नियन्त्रणमा लिएको छ।

विभागका निर्देशक होमनाथ भट्टराईले उजुरीका आधारमा उक्त ब्रान्डको रङको गोदाममा अनुगमन गरी उपभोग्य म्याद गुज्रेका र रिलेबलिङ गरेका पेन्ट्स जफत गरी विभागका दुईवटा गाडीमा राखेर सबैको परीक्षण गर्ने काम भएको बताउनुभयो। उहाँका अनुसार पेन्ट्स परीक्षण गरेपछि नष्ट गरिनेछ। एसियन पेन्ट्सका सञ्चालकले रिलेबलिङ नभएको र म्याद गुज्रेका पेन्ट्स नष्ट गर्ने तयारी भएको दाबी गरेका छन्। विभागका निर्देशक भट्टराईले भन्नुभयो, “सञ्चालकले म्याद गुज्रेका पेन्ट्सको रिलेबलिङ नभएको दाबी गरेका छन्। म्याद गुज्रेका पेन्ट्स गोदाममा राख्नुले रिलेबलिङ गर्नका लागि राखेको देखिन्छ, हो/होइन, यसको परीक्षणपछि थाहा हुनेछ।” उक्त कसुर मुद्दा चलाउने खालको भएकाले तत्काल अनुसन्धान गर्ने काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो। 

एसियन ब्रान्ड पेन्ट्सका बारेमा देशभरका ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई पत्रचार गरी यस्ता म्याद गुज्रेका पेन्ट्स भएमा जफत गरी नियन्त्रणमा लिन भनिएको निर्देशक भट्टराईले जानकारी दिनुभयो। उहाँले आमउपभोक्तालाई पनि उक्त ब्रान्डको पेन्ट्सको उपभोग्य मिति राम्रोसँग हेरेर मात्रै प्रयोग गर्न आग्रह गर्नुभयो। 

उपभोक्ता संरक्षण ऐन, २०७५ ले यस प्रकारको कसुर गरेबापत उक्त एसियन पेन्ट्स उद्योगलाई तीन लाख रुपियाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजायको व्यवस्था गरेको छ।