• १९ असोज २०८१, शनिबार

देवदहलाई विश्व सम्पदासूचीमा सूचीकृत गर्न पहल गर्छु : नेता भुसाल

blog

प्रतिनिधिसभा सदस्यका उम्मेदबार घनश्याम भुसाल र प्रदेशसभा सदस्यका उम्मेदवारद्वय रज्जाक र यादव । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, कात्तिक २१ गते । स्वतन्त्र बाम उम्मेदवार घनश्याम भुसालले रुपन्देहीलाई पर्यटकीय र आर्थिक विकासको केन्द्रबिन्दु बनाउने योजनासहित आफूले रुपन्देही १ मा उम्मेदवारी दिएको बताउनुभएको छ । देवदह क्षेत्रको पर्यटकीय विकास र लुम्बिनी बौद्ध विश्वविद्यालय सञ्चालनमा पनि विशेष जोड दिने उहाँको भनाइ छ । 

‘देवदहको विकास भनेको रुपन्देही १ र रुपन्देही जिल्लाको मात्र विकास नभएर राष्ट्रकै विकाससँग जोडिएको छ’ भुसालले प्रतिबद्धतापत्र सार्वजनिक गर्दै सोमबार यहाँ भन्नुभयो । देवदहलाई लुम्बिनी र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँग जोडेर पर्यटकीय र आर्थिक विकासलाई पछ्याउने गरी प्रतिबद्धतापत्र जारी गर्नुभएको छ । 

भुसालका अनुसार देवदह बुद्धको मावलीस्थल हो । वैज्ञानिक रूपमा पुष्टि गरी युनेस्को मार्फत विश्व सम्पदासूचिमा सूचीकृत गर्न जरुरी रहेको उहाँले बताउनुभयो । रुपन्देही १ निर्वाचन क्षेत्रमा उत्तरी क्षेत्रको तुलनामा दक्षिणी क्षेत्रमा शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार कम भएकाले समानुपातिक ढङ्गले विकास निर्माणका योजना सञ्चालन गरिने भुसालले बताउनुभयो ।

चुनावी प्रतिबद्धतापत्रमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी तथा सरसफाइ, पर्यटन, भूमि व्यवस्था, युवा स्वरोजगार तथा खेलकुद, भौतिक पूर्वाधार तथा सडक, विद्युत्, सञ्चार, पुल तथा कल्भर्ट, बाढी नियन्त्रण तथा तटबन्धन, औद्योगिक तथा व्यावसायिक पूर्वाधार, शान्ति सुरक्षा, प्राकृतिक श्रोत साधन लगायतका विषय समेटिएका छन् ।

रुपन्देही–१ मा प्रतिनिधि सभातर्फ स्वतन्त्र वाम उम्मेदवार भुसाल तथा प्रदेश १ (१) मा कांग्रेसका विश्वनाथ यादव र १ (२) मा कांग्रेसकै अब्दुल रज्जाक उम्मेदवार हुनुहुन्छ । रुपन्देही १ मा समानुपातिक ढङ्गले विकास गर्दै पाँच वर्षभित्रमा विकासका पूर्वाधारको निर्माण गरी दश वर्षभित्रमा रुपन्देही १ ले अलग्गै पहिचान दिन सक्ने क्षेत्रको रूपमा परिणत गर्ने प्रतिबद्धता जनाउनुभयो । 

प्रतिबद्धतापत्रमा रुपन्देही १ मा बिशेषगरि सिँचाई, कृषि, तटबन्धन, शिक्षा, स्वास्थ्य लगायत आर्थिक विकास र भौतिक पूर्वाधार विकासमा विशेष जोड दिइएको छ । कृषि उत्पादनमा बृद्धिगरी उत्पादित कृषि उपजलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट खाडीलगायतका मुलुकमा निर्यात गरेर आर्थिक उन्नति गर्न पहल गरिने उहाँले बताउनुभयो ।