जयमान बुढा मगर
रुकुमपूर्व, कात्तिक २१ गते । रुकुमपूर्व अस्पतालमा सुत्केरी भएकी एक महिलालाई हेलिकोप्टरबाट उद्धार गरिएको छ । जिल्लाको सिस्ने गाउँपालिका– ५ की ३४ वर्षीया सावित्री गुरुङलाई हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको छ ।
आइतबार राति रुकुमपूर्व अस्पतालमा गुरुङले छोरी जन्माउनुभएको थियो । अस्पतालका डा. नारायण बरालले बच्चाको श्वासप्रश्वास र आमाको स्वास्थ्यमा समस्या देखिएको जानकारी दिनुभयो । आमा र बच्चा दुबैलाई थप समस्या आउन नदिन जिल्लाबाहिर पठाइएको डाक्टर बरालको भनाइ छ ।
गुरुङलाई एम्बुलेन्सबाट अन्य सुविधासम्पन्न अस्पतालमा लैजान समस्या भएपछि नेपालगञ्जबाट हेलिकोप्टर मगाएर उद्धार गरिएको सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले जानकारी दिनुभयो । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकोप्टरमा गुरुङलाई सुर्खेत पठाइएको रेग्मीले बताउनुभयो । गाउँपालिका अध्यक्ष रेग्मीको पहल र प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारको समन्वयमा सुत्केरी गुरुङ र शिशुको उद्धार गरिएको हो ।