• २१ वैशाख २०८१, शुक्रबार

एसियाली विकास बैंकले ओखर र फलफूल खेतीमा नौ अर्ब लगानी गर्ने

blog

अर्थ सचिव कृष्णहरि पुस्कर र नेपालका लागि एसियाली विकास बैंङ्कका देशीय निर्देशक अर्नौड काउक्वीइज्बीच हस्ताक्षरपछि पत्र आदानप्रदान गर्दै । तस्बिर :रत्न श्रेष्ठ/रासस

काठमाडौंं, कात्तिक २१ गते । नेपाल सरकार र एसियाली विकास बैंकबीच नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल प्रजाति खेती सुधारका लागि वित्तीय लगानी गर्ने भएको छ ।

सोमबार अर्थ मन्त्रालयमा आयोजित सम्झौता कार्यक्रममा अर्थसचिव कृष्णहरि पुष्कर र नेपालका लागि एसियाली विकास बैंकका देशीय निर्देशक अर्नौड काउक्विइसबीच नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल प्रजाति खेती सुधारका लागि वित्तीय लगानी सम्झौतामा हस्ताक्षर भएको हो ।

एसियाली विकास बैंकसँगको सम्झौताअनुसार बैंकले साधारण पुँजी संशोधनबाट करिब सात अर्ब ७९ करोड सहुलियत ऋण र एसियाली कोषबाट करिब एक अर्ब ३० करोड रुपियाँ अनुदान दिने भएको छ । परियोजनाका लागि बैंकले विश्वव्यापी कृषि तथा खाद्य सुरक्षा कार्यक्रमबाट एक अर्ब १७ करोड खर्च र नेपाल सरकारले करिब एक अर्ब ८८ करोड रुपियाँ लगानी गर्ने सम्झौतामा उल्लेख छ ।

ओखर र फलफूल खेती सुधार परियोजनाबाट प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका करिब ३० हजार घरपरिवार लाभान्वित हुनेछन् । जलवायु सहन सक्ने ओखर र फलफूल प्रजातिका बोटबिरुवा नेपालको पहाडी क्षेत्रको १० हजार हेक्टरमा लगाइने सहमति भएको छ ।

हस्ताक्षर कार्यक्रममा बोल्नुहुँदै अर्थ सचिव कृष्णहरि पुस्करले एसियाली विकास बैंकले विगतदेखि निरन्तर रुपमा सहयोग गर्दै आएको स्मरण गर्दै अझै सहयोगको अपेक्षा राखेको बताउनुभयो । उहाँले नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल प्रजाति खेती सुधारको लागि आवश्यक सहुलियत ऋणका विषयमा प्रक्रिया पुर्याएर छिट्टै काम सुरु गर्ने पनि बताउनुभयो ।