• १६ भदौ २०८१, आइतबार

स्थायित्व, शान्ति र विकासका लागि जीत आवश्यक : अध्यक्ष ओली

blog

कार्यक्रममा सहभागी हुनुहुँदै नेकपा (एमाले) का अध्यक्ष एवम पूर्व प्रधानमन्त्री के.पी. शर्मा ओली (बिचमा) । तस्बिर : रमेश पौडेल

रमेश पौडेल

पोखरा, कात्तिक २१ गते । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा स्थायित्व, शान्ति र विकासका लागि चुनावमा एमालेको जीत आवश्यक रहेको बताउनुभएको छ । उहाँले गठबन्धनको झुटा प्रपञ्च भत्काउँदै मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन एमालेले बहुमत ल्याउने दाबी गर्नुभयो । 

एमाले जिल्ला निर्वाचन परिचालन कमिटी कास्कीको आयोजनामा सोमबार पोखरामा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष ओलीले सो कुरा बताउनुभयो ।

गठबन्धनको नाममा विभिन्न पाँचतर्फ फर्केका पाँच ओटा घोषणापत्र छन्, कसको लागू गर्ने हो भन्नेमै झगडा हुन्छ’ उहाँले भन्नुभयो, ‘एउटाले कार्यकारी प्रधानमन्त्री भन्छ, कसैले कार्यकारी राष्ट्रपति भन्छ, कसैले यही ठिक छ भन्छ, यसैमा उनीहरूको झगडा छ ।’

संसद् विघटन प्रतिगमन नभएको दाबी गर्दै उहाँले यसको गलत विश्लेषण भएको टिप्पणी गर्नुभयो । अध्यक्ष ओलीले शक्ति पृथकीकरणको सिद्धान्तअनुरूप संसद्को अधिकारलाई खुम्च्याएर अदालतले परमादेश गरी आफ्नो सरकार अपदस्त गरेको भन्दै अदालतको समेत कटु आलोचना गर्नुभयो ।


अहिलेको सरकार परमादेशबाट आएको सरकार हो भन्दै उहाँले यसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल पनि हुन सक्ने आशङ्का व्यक्त गर्नुभयो । 

लिम्पियाधुराको बारेमा पश्चिममा गएर बोलेको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको टिप्पणीप्रति उहाँले लक्षित गर्दै भन्नुभयो, ‘बन्दुकले हैन, वार्ता र छलफल नै सीमा विवाद सुल्झाउने हो ।’ उहाँले २००८ सालमा मातृकाप्रसाद कोइरालाले १७ ओटा सैन्य चेकपोस्ट स्थापना गरे तर २०२६ सालमा कीर्तिनिधि विष्टले फिर्ता गरेको इतिहास स्मरण गराउनुभयो । 

उहाँले थप्नुभयो, ‘महँगा मोबाइल आयात बन्द छ । तर बजारभर छ्यापछ्याप्ती छ । मोबाइलबाट पनि राज्यको सात अर्ब ढुकुटी गुमेको छ ।’ 

मङ्सिर ४ मा एउटा समृद्ध राष्ट्रिय शक्ति निर्माणका लागि एमालेको सरकार बन्नुपर्ने जिकिर गर्नुभयो । नेपालमा पानीजहाज ल्याउने कुरा गर्दा विगतमा हास्यपात्र बनाउने गरेको बताउँदै उहाँले एमालेको सरकार आयो भने समुद्रमा नेपालको झण्डा फहराएर पानीजहाज चलाउन सकिने कुरामा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘चुनावी प्रचार शैली यतिखेर घरदैलो नभई गीत बजाउने र सडकयात्रा गर्दै आफैँ नाच्ने काम भएको छ । यसरी जनताले भोट दिँदैनन्, घरदैलोमै पुग्नुपर्छ ।’ 

एमालेको सरकारले एक सय रुपियाँबाट सुरु गरेको वृद्ध भत्ता अहिले दिनकै एक सयभन्दा बढी भएको बताउनुहुँदै उहाँले महिला, बालबालिका, अपाङ्गता भएका व्यक्तिलाई समेत समेटेको बताउनुभयो । 

उहाँले आफ्नै पालामा नागढुङ्गा सुरुङमार्ग थालनी गरेको बताउनुहुँदै सो मार्ग अबको दुई वर्षमा बनिसक्ने दाबी गर्नुभयो । कार्यक्रममा एमाले नेता एवं पूर्व गृहमन्त्री खगराज अधिकारीले गण्डकीको विकास निर्माणका लागि सङ्घ छोडेर प्रदेशमा आएको बताउनुभयो ।