• १३ साउन २०८१, आइतबार

कन्याममा ‘स्काई वाक’ टावर

blog

इलामको कन्याममा निर्माण गरिएको स्काई वाक । तस्बिर : प्रेम अधिकारी /इलाम

प्रेम अधिकारी 

पशुपतिनगर(इलाम), कात्तिक २१ गते । पर्यटकीय नगरी सूर्योदय नगरपालिकाको कन्याममा स्काई वाक (सिसाको टावर) निर्माण गरिएको छ । पर्यटकलाई थप आकर्षित  गर्न कन्याम क्लाउडले पाँच करोड रुपियाँको लगानीमा स्काई वाकको निर्माण गरी सञ्चालनमा ल्याएको हो । 

कन्याम क्लाउडमा आबद्ध १६ जना महिला उद्यमीको लगानीमा स्काई वाक सञ्चालनमा ल्याइएको हो । मेची राजमार्गको कन्याम चियाबगान नजिकै निर्माण गरिएको संरचनाको सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राई, उपप्रमुख दूर्गाकुमार बराल, अभिनेत्री वर्षा राउत र गायिका एलिना चौहानले संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।

नगर प्रमुख राईले सूर्योदय नगरपालिका प्रदेश १ को एक मात्र पर्यटकीय नगरी भएकाले निजी क्षेत्रबाट पर्यटनमा लगानी हुनु सकारात्मक भएको बताउनुभयो । नगर प्रमुख राईले पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणमा करोडौँ लगानी भएको बताउँदै थप पर्यटन प्रवर्धनका सम्भावना खोजी भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘हामी निरन्तर पर्यटकीय विकासमा लागेका छौँ, कन्याम, अन्तुको ब्युटिफिकेसन अव चाडै सम्पन्न हुन्छ ।’

उक्त स्काई वाकबाट नेपाल मात्र नभएर भारतको दार्जिलिङ र पश्चिम बङ्गालबाट समेत पर्यटक आउने जनाइएको छ । सिँढीसहित टावर निर्माण गरिएको छ । सिँढीको सिरानमा ४ मिटर चौडाइ र ७ मिटर लम्बाइको सिसा राखिएको छ । जहाँबाट नेपाल र भारतका विभिन्न दृश्य अवलोकन गर्न सकिन्छ । 


कन्याम क्लाउडका रीता भुसालले कन्याम आएका पर्यटकले सिसाको टावरमा चढेर चियाबारीसहित हिमाल र तराईका फाटको अवलोकन गर्न सकिने जानकारी दिनुभयो । उहाँका अनुसार स्काई वाकमा चढ्दा पर्यटकले प्रतिव्यक्ति पाँच सय रुपियाँ शुल्क तिर्नुपर्छ । 

स्काई वाकसँगै दुई वटा स्विइङ, (बालउद्यान) र रेस्टुरेन्ट समेत निर्माण गरिँदै छ । टावरमा एकपटकमा २२ जनासम्म चढ्न सक्ने क्षमता भए पनि अहिले ८ जना मात्र चढाइने गरिएको छ  । स्काइ वाक गर्ने पर्यटकको सुरक्षाका लागि स्विच कभर, चढेका व्यक्तिको सङ्ख्या रेकर्ड राखिने र सुरक्षा गार्ड पनि हुनेछन् ।  

कन्याम स्वदेशी पर्यटकका लागि प्रख्यात स्थान हो । यहाँ  पर्यटकले चियाबारी घुम्न, अवलोकन गर्न, चियाबारीमा तस्बिर खिचाउन, घोडचढीको मज्जा लिने गरेका छन् । कन्याम अहिले सेल्फी खिच्ने , टिकटक बनाउने र फिल्म सुटिङ गर्ने गतिलो स्थान बन्दै गएको छ ।