• १९ असोज २०८१, शनिबार

जनताको सेवक बन्न तयार छु : ऊर्जा मन्त्री भुसाल

blog

–घरदैलो कार्यक्रममा ऊर्जा मन्त्री भुसाल

गोरखापत्र अनलाइन

ललितपुर, कात्तिक २१ गते । वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट ललितपुर क्षेत्र नं ३ का उम्मेदवार पम्फा भुसालले ललितपुरवासी जनताको सेवकका रूपमा काम गर्ने दृढताका साथ आफू फेरि जनताको घरदैलोमा आएको बताउनुभएको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीसमेत रहनुभएका उहाँले घरदैलो कार्यक्रममा ललितपुरवासीको गुणस्तरीय जीवनयापन गर्ने अधिकारलाई व्यवहारतः कार्यान्वयन गर्न आफू लागि परेको बताउनुभयो । आइतबार उहाँले ललितपुर महानगरपालिका वडा नं २६ को चिबहाल, ढोलाहिटी, जैनखेल र सुनाकोठी तथा वडा नं २७ को चौतारा, ओखाट र बालकुमारीका मतदातासँग अन्तरक्रिया गर्नुभयो । 

घरदैलो अभियानका क्रममा उहाँले आफूले यसअघि थालनी गरेको विकासका कामलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । २०७४ सालको निर्वाचनमा विजयी भएयता आफूले जनतासँग अन्तरक्रिया गर्दै जनअपेक्षा पूरा गर्न लागि पर्दै आएको बताउनुभयो । 

उहाँको विशेष पहलमा मच्छिन्द्रनाथ र कार्यविनायक जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । सो पुलले दुई सांस्कृतिक सम्पदालाई एकापसमा जोडेको छ ।


सो स्थानमा पुल नहुँदा कार्यविनायक र मछिन्द्रबहाल पुग्ने पर्यटक एकअर्को स्थानमा जान कठिनाइ थियो । पुल बनेसँगै छोटो अवधिमा दुवै स्थानमा पुग्न सकिने भएको छ । पुल निर्माणसँगै आन्तरिक र बाह्य पर्यटकलाई दुवै स्थानको भ्रमणका लागि सहजीकरण हुने स्थानीयको भनाइ छ ।