• १९ असोज २०८१, शनिबार

राष्ट्रपति भण्डारी आज आइसल्यान्ड जाँदै

blog

राष्ट्रपति विद्यादेवी भण्डारी : फाइल तस्बिर

काठमाडौँ, कात्तिक २१ गते  । राष्ट्रपति विद्यादेवी भण्डारी आज साँझ यस वर्षको डब्लूपीएल ट्रेलब्लाजर अवार्ड ग्रहण गर्न आइसल्यान्डतर्फ जाँदै हुनुहुन्छ । राष्ट्रपति भण्डारी आइसल्यान्डमा आयोजना हुने एक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुनुका साथै अवार्ड ग्रहण समारोहमा सहभागी हुनुहुने कार्यक्रम रहेको जानकारी राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले दिनुभयो । 

प्रतिष्ठित महिला राजनीतिक नेत्रीहरूका लागि दिइने यो अवार्ड विश्वका प्रमुख महिला राजनीतिज्ञहरूको उपलब्धिको कदर गर्दै वर्तमान महिला राष्ट्रपति, पूर्व महिला राष्ट्रपति तथा महिला प्रधानमन्त्रीहरूलाई हरेक वर्ष प्रदान गरिन्छ । 

दक्षिण एसियाली मुलुक नेपालमा राष्ट्रपतिजस्तो उच्च पदमा आसीन रहेर नेपाल र विश्वकै महिलाको गरिमा बढाएको ठहर गर्दै राष्ट्रपति भण्डारीलाई सो सम्मान दिन लागिएको हो । 

आइसल्यान्डको रेक्जाभिकमा आयोजना हुने रेक्जाभिक ग्लोबल फोरम–वुमन लिडर्स विषयक सम्मेलनमा राष्ट्रपति भण्डारीलाई यो सम्मान प्रदान हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आइसल्यान्ड सरकार र संसदमा सामेल महिला राजनीतिक नेत्रीहरूले सन् २०१८ देखि यस मञ्चको सुरुवात गरेका हुन् । जसमा राजनीतिक, व्यवसाय, नागरिक समाज, शिक्षा, कला र सञ्चारलगायतका क्षेत्रमा लैङ्गिक समानता, सशक्तीकरण र महिला नेतृत्वको उत्कृष्ट अभ्यासका विषयमा बहस गरिन्छ ।

मन्त्रालयका अनुसार राष्ट्रपति भण्डारीले अवार्डको सम्मान ग्रहणसँगै नेपालमा महिला नेतृत्वको वर्तमान स्थितिका बारेमा सम्बोधन गर्नुहुने कार्यक्रम छ । मङ्गलबारदेखि बिहीबारसम्म आयोजना हुने सम्मेलनमा सहभागी भएपछि राष्ट्रपति भण्डारी शनिबार स्वदेश फर्कनुहुने कार्यक्रम छ ।