• १३ साउन २०८१, आइतबार

विदेशनीतिमा साझा सहमति

blog

लोकतन्त्र र राजनीतिको आधारस्तम्भ चुनाव भएकोले राज्यको सम्पूर्ण संयन्त्र अहिले कसरी आगामी मङ्सिर ४ को निर्वाचन सफल बनाउन सकिन्छ त्यसतर्फ केन्द्रित भएको छ। प्रतिनिधि सभा र प्रदेश सभातर्फ हुने प्रत्यक्ष र समानुपातिक उम्मेदवारका लागि यो आमनिर्वाचनले तिनलाई विधि बनाउने ठाउँमा पु-याउनेछ। मतदाताको रोजाइको आधारमा प्रतिनिधि छान्न लोकमतको मापन गर्ने कार्यका लागि सार्वभौम जनता यताका केही दिन उम्मेदवारले गरेको गृहकार्य परीक्षण गरिरहेका छन्। 

राजनीतिक परिवर्तनपछि नेपाली समाजले आर्थिक विकास तीव्र बनाउन सकेन। पहिलो र दोस्रो जनआन्दोलनपछि जनताको इच्छा र आकाङ्क्षा ह्वात्तै बढेको छ तर जनताको आकाङ्क्षा पूरा गर्न दलहरू चुकेकै हुन्। भ्रष्टाचारको वृद्धिले गर्दा लोकतन्त्रको न्यूनतम कार्य सम्पन्न गर्न पनि आर्थिक तथा सामाजिक क्षेत्रमा आमूल परिवर्तन हुनुपर्नेमा अझै त्यसले गति लिन सकेन। मुलुकको मुहार फेर्ने प्रतिनिधि चुन्न एउटा प्रविधि प्रयोग गर्न पनि हाम्रा ठूला दलहरू हच्किए। छिमेकले प्रयोगमा ल्याइसकेको इलेक्ट्रोनिक भोटिङ मेसिनको प्रयोग गर्न हामी यो आमनिर्वाचनमा चुक्यौँ। विगतको पहिलो संविधान सभाको निर्वाचनका बखत पाइलट प्रोजेक्टको रूपमा काठमाडौँमा यसको प्रयोग भइसकेको थियो। 

त्यसपछिका मुलुकका अन्य छवटा निर्वाचन क्षेत्रमा यसको प्रयोगले बदर मतलाई कम गरेको थियो भने मतदानको नतिजा पनि यथाशीघ्र छिटो सार्वजनिक गरिएको थियो। विभिन्न निर्वाचन क्षेत्रको उपनिर्वाचनमा यसको प्रयोग भइसकेर पनि ठूला दल र निर्वाचन आयोग यसबाट पछाडि फर्कनु भनेको प्रविधिसँग विश्वास नभएको मान्नुपर्ने हुन्छ। त्यसैले इलेक्ट्रोनिक भोटिङ मेसिनलाई यो निर्वाचनमा प्रयोग गर्नबाट हामी चुक्यौँ। परिणाम खर्चिलो र नतिजामा लामो समय लिने परम्परागत मतपत्रकै पद्धतिलाई अपनाउनमा रमायौँ। जबकी एमाले र राप्रपाले तिनका आफ्नै दलीय महाधिवेशनमा यो मेसिनको प्रयोग गर्दा चुनावमा भने नेका, एमाले र माओवादी केन्द्रले यसलाई किन स्वीकृति दिएनन् बुझिनसक्नु छ। इच्छाशक्ति भएको मानिसले चाहेमा सम्पूर्ण कार्य गर्न सक्दछ। निर्वाचन आयोग प्रविधिमैत्री नहुने सवाल नै उठ्दैन। दलहरूमा लामो समयदेखि मतपत्रमा अभ्यास हुँदै आएका पुराना नेतृत्ववर्ग प्रविधिसँग डराए। तर पनि छिमेकमा जस्तो विभिन्न चरणमा चुनाव नगरेर सम्पूर्ण चुनावलाई एकै दिन सम्पन्न गर्न सक्ने खुबी देखाउने निर्वाचन आयोग विगतमा प्राप्त सफलताले यस पटक हौसिएको देखिन्छ। लोकतन्त्रको मेरुदण्ड नै निर्वाचन हो भन्ने आधारमा जिरो डिले र जिरो डेफीसीयन्सीलाई टीएन शेषनले मूलमन्त्र सम्झेर भारतीय निर्वाचनको सुधार गर्न ९० को दशकमा उनी सफल भएका थिए। उनले सयवटा निर्वाचन धाँधलीहरू पहिचान गरी त्यसमा सुधार गरेरै छाडे। राजनीतिक दबाब झेल्न सक्ने खुबी उनमा थियो। शेषनकै कारण भारतमा मतदातालाई फोटोसहितको परिचयपत्र वितरण गरियो। यो बिना उनले कतिपय स्थानमा निर्वाचन नै स्थगित गरिदिए। उनले इलेक्सन अब्जर्भरमा नेसनल ट्याक्स ब्युरोका उच्च पदाधिकारीलाई राखेका थिए जसको कारण उम्मेदवारले निर्वाचनको समयमा प्रचार–प्रसारमा के कस्तो खर्च गरेको छ भन्ने जानकारी खर्च सिलिङभित्र पर्छ पर्दैन भन्न सजिलो भयो। बिहार र पन्जाबमा सम्पन्न सन् ९२ को निर्वाचन खारेज गरिदिँदा कतिपय राजनीतिज्ञले उनलाई महाभियोग लगाउने प्रयास गरेका थिए। 

शेषनले नियम कानुनको कडाइसाथ पालना गराउन गरेको प्रयासको कारण उनको केन्द्रीय सरकार एवं पार्टीका कतिपय नेतासँग ठूलो विवाद रह्यो। त्यसैले निर्वाचन आयोग यो समय मूकदर्शक भएर बस्न मिल्दैन। ऐन कानुनमा भएको प्रावधानको रिठ्ठो नबिराई पालना गराउन मात्र सक्यो भने लोकतन्त्रको आधारभूत तत्व उम्मेदवार बन्न र निर्वाचित हुन पाउने अवसर र अधिकारबाट कसैले पनि वञ्चित हुनुपर्ने छैन। साथै निर्वाचनका लागि निर्वाचन मात्र गरेर पुग्दैन, मतपत्रको गोपनीयता, मतगणनाको सुनिश्चितता, भयरहित वातावरणमा मतदान गर्ने अवस्था मुख्य विषय हुन्। पर्यवेक्षण भयो भएनभन्दा निर्वाचन कसरी सम्पन्न हुन्छ त्यो मुख्य कुरा हो। यो निर्वाचनले निरूपण गर्ने धेरै विषय छन्। दल, विचार वा वादका सिद्धान्त बोकेका व्यक्तिदेखि सुधारको प्रणाली बोकेका स्वतन्त्र मतदातासम्मलाई मतदान गर्न स्वतन्त्र अवसर सार्वभौम नेपाली जनताको हातमा छोडेको छ। नेपाली जनताले धेरै पटक कतिपय उम्मेदवारलाई भोगिसकेका छन्। पटक पटक सफल र असफल भइसकेका पात्रहरूले अस्थिरता, भ्रष्टाचार बढायो भनेर एकोहोरो गुनासो गरिरहने छुट अब कसैलाई छैन। मतदाताले आफ्नो विवेकको प्रयोग यो समयमा पनि नगर्ने हो भने कहिले गर्ने ? मतदाता नारा र भाषणको पछि लाग्ने हो भने हरेक दलमा एकसे एक भाषणबाजको कुनै कमी छैन। कुनै समय भारतको रक्षामन्त्री भएका कृष्ण मेननले धाराप्रवाह नौ घण्टासम्म लामो भाषण दिएर संयुक्त राष्ट्रसङ्घकै इतिहासमा २३ जनवरी १९५७ मा एउटा रेकर्ड कायम गरेका थिए। मतदाताको ऊर्जाशील समय बेतुकको लामो भाषणमा खर्चिने नेपालमा धेरै नेता छन्। भाषणका लागि भाषण गर्ने राजनीतिबाट मुलुक जकडिएको छ। तिनले जनतालाई खुसी र सुख दिलाउन सकेनन्। त्यसैले अबका दिनमा मुलुकको अर्थव्यवस्थामाथि परिवर्तन आवश्यक भइसकेको छ। सबै क्षेत्रबाट चिन्तन र चिन्ता अहिलेको आवश्यकता हो। विचारहरू भावनामा बग्ने खालको हुनु हुँदैन तर्कमा आधारित विवेकपूर्ण हुनुपर्दछ। मुलुकको राजनीतिक अवस्था छिमेकसँगको सम्बन्ध जलवायु परिवर्तन मूल्यवृद्धिको समस्यामा उम्मेदवार कसरी प्रस्तुत भएको छ। मुलुक छिमेकीसँग बेलाबखत सन्तुलित नीति अपनाउन चाहँदा चाहँदै पनि देशको भूगोललाई दलका नेताहरूले सहमतिमा लान नसकेर विवादमा पर्दै आएका छन्। 

सत्तामा नपुग्दा एउटा र सत्तामा पुगेपछि अर्कै बोल्ने गर्दा छिमेकीहरू सशङ्कित र तरङ्गित बन्ने गरेका छन्। भौगोलिक समदूरीमा बस्न सक्नुपर्नेमा कहिले लपक्कै टाँसिने र कहिले उग्र राष्ट्रवादको नारा लगाउँदा कतिपय अवस्थामा भूगोल बिर्सन खोज्नेहरूले बिर्सेर वैदेशिक नीति चलाउन खोज्दा कालान्तरमा कतै मुलुक दुर्घटनामा पर्ने त हैन शङ्का र आशङ्का बढ्नु स्वाभाविक हो। आफ्नो देशलाई अरू देशभन्दा सर्वोच्च ठान्ने उग्रराष्ट्रवाद जर्मनको नाजीले देखाउँदा सग्लो भूमि टुक्रिन प¥यो। सत्ताको ब्यारोमिटर चढेको अवस्थामा दलहरूले आफ्नो स्वार्थलाई थाँती राखेर राष्ट्रिय स्वार्थमा अगाडि बढनुपर्नेमा वैदेशिक नीति यदा कदा असन्तुलित बन्न पुग्यो भने हामीले अपनाएको असंलग्नताको नीति के होला ? त्यसैले विदेशनीति र रक्षामा जो सत्तामा गए पनि दलहरूबीच होस् वा निर्वाचित प्रतिनिधिबीच सहमति हुनुपर्ने देखिन्छ। नेपाल विभिन्न पक्षको बसोबास भएको मुलुक हो। एउटाको संस्कृति अर्कोसँग मिल्दैन तर पनि सबै फूलहरू एउटै मालामा अटाएर बसेका छन्। 

यही नै हाम्रो सप्तरङ्गी संस्कृति हो। मिलेर बसेको समाजमा खोक्रो राष्ट्रवादको नारादेखि सामान्य अवस्थामा हेट स्पिचः दिएर कुनै विशेष समूहप्रति घृणा फैलाएर हिंसा भडकाउन सक्ने अवस्थाप्रति सचेत हुनुपर्ने अवस्था छँदैछ। यस्तो समूहबाट निर्वाचन बिथोल्नेसम्मको काम हुन सक्छ। जनता केन्द्रित बन्न र जोडिन स्वस्थ प्रतिस्पर्धा गर्ने दलहरूले यस किसिमको कार्य कहिल्यै गर्न सक्दैनन्। आसन्न निर्वाचनले जनताको रोजाइका प्रतिनिधि छान्न सकोस् छानेको प्रतिनिधिले तिनको जनादेशअनुसार काम गर्न सकून् र अन्त्यमा चुनेको प्रतिनिधिबाट जनता खुसी हुनु भनेको जनताको बढ्दो आकाङ्क्षाका साथै भाषा, संस्कृति र भूगोलमा घेरिएको सार्वभौम जनताको आवाज सम्बन्धित ठाउँमा सुनिनु हो।