• १९ असोज २०८१, शनिबार

प्रतिनिधिसभा निर्वाचन गुल्मी क्षेत्र नम्बर – २

एमाले नेता गौतमले झाँक्रीलाई सघाउने, विष्टलाई केही समस्या नहुने एमालेको ठहर

blog

पत्रकार सम्मेलनमा बोल्नुहुँदै नेता गौतम । तस्बिर - तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, कात्तिक २० गते । नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य शेषकान्त गौतमले सत्तारुढ गठबन्धनका उम्मेदवार रामकुमारी झाँक्रीलाई सघाउने घोषणा गर्नुभएको छ ।

आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा तथा  प्रतिनिधिसभा निर्वाचनमा गुल्मीको क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार झाँक्रीलाई जिताउन सघाउने आइतबार पत्रकार सम्मेलनमार्फत उहाँले साे कुरा बताउनुभएको हो ।

आफूले एमाले पार्टी नछाडेको तर पार्टीले कुनै कारबाही गरेमा त्यसको परिणाम भोग्न तयार भएर नै पत्रकार सम्मेलन गरेको उहाँको दाबी छ । 

यता, नेकपा एमाले गुल्मीका सचिव गणेश श्रीपालीले पार्टीले आन्तरिक रूपमा करिब एक महिना अघिदेखि नै गौतमलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको बताउनुभयो ।

गौतमले झाँक्रीलाई समर्थन गर्दैमा पार्टीलाई केही समस्या नहुने र विष्ट भारी मतसहित विजयी हुने उहाँको दाबी छ ।

गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका सचिव तथा उम्मेदवार गोकर्ण विष्ट वि.सं. २०५६ सालदेखि २०६४ सालमा बाहेक पटक पटक निर्वाचित हुनुभएको छ । वि.सं. २०६४ सालमा नेकपा (माओवादी केन्द्र)का चन्द्रबहादुर थापा (सागर)ले विष्टलाई पराजित गर्नुभएको थियो । पहिलेका सहयात्री विष्ट एमालेबाट र झाँक्री गठबन्धनको तर्फबाट चुनावी मैदानमा हुनुहुन्छ ।