• १९ असोज २०८१, शनिबार

रुपन्देही क्षेत्र नं. २ (ख) मा सत्ता गठबन्धनको संयुक्त चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

blog

बुटवलमा प्रतिबद्धतापत्र सार्वजनिक गर्दै गठबन्धनका उम्मेदबार बामदेव क्षेत्रीलगायत । तस्बिर – कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, कार्तिक २० गते । रुपन्देही क्षेत्र नं. २ (ख) मा सत्ता गठबन्धनका आबद्ध दलहरूले संयुक्त चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । निर्वाचन क्षेत्रभित्रका सबै नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्ने प्रतिबद्धतासहित बुटवलमा आइतबार एक कार्यक्रमकाबीच प्रतिबद्धतापत्र सार्वजनिक भएको हो ।

शिक्षा, जनस्वास्थ्य, युवा तथा खेलकुद, लैङ्गिक समानता र समावेशिता, भौतिक पूर्वाधार, कृषि तथा वातावरण विकासलाई मुख्य आधार बनाइएको छ । 

प्रतिबद्धतापत्रमा शिक्षातर्फ बीटीआई र अटोभिलेजलाई इन्जिनियरिङ कलेजमा रूपान्तरण गर्ने, लुम्बिनी वाणिज्य क्याम्पसलाई विश्वविद्यालय र बुटवल बहुमुखीलाई आधुनिकीकरण गरी अनुसन्धान केन्द्रको रूपमा स्थापना गर्ने उल्लेख छ ।

५ वर्षमुनिका बालबालिका र ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने र सबैलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्ने भनिएको छ । 

लुम्बिनी प्रादेशिक अस्पताललाई हेलिप्याडसहित आधुनिक मेडिकल कलेज बनाउने, तामनगरमा ट्रमा सेन्टर स्थापना गरिने क्षेत्र न २ (ख) मा प्रदेशसभा उम्मेदवार समेत रहेका माओवादी केन्द्रका नेता वामदेव क्षेत्रीले बताउनुभयो । 

रुपन्देहीभर सत्ता गठबन्धन र  जनमुक्ति पार्टीबीच तालमेल छ ।  क्षेत्र न २ (क) मा कांग्रेसका दीर्घबहादुर केसी कुमार हुनुहुन्छ । यहाँ प्रतिनिधिसभामा गठबन्धनको समर्थनमा जनमुक्तिका केशबबहादुर थापा सूर्यवंशी हुनुहुन्छ ।

गठबन्धनले युवा खेलकुदतर्फ युवाको क्षमता वृद्धि कार्यक्रम सञ्चालन गर्ने, राष्ट्रवादी युवा जनशक्ति उत्पादन गर्ने, आधुनिक मापदण्डअनुसार खेल पूर्वाधार निर्माण गर्ने जनाएको छ ।

त्यस्तै, लैङ्गिक समानता र समावेशीतर्फ जातीय लैङ्गिक र सामाजिक विभेद हटाई समतामूलक समाजको निर्माण गर्ने, लैङ्गिक हिंसापीडितको लागि सामाजिक सुरक्षा केन्द्र स्थापना गर्ने, एक वडा एक ज्येष्ठ नागरिक केन्द्र निर्माण र गृहिणी रोजगार कार्यक्रम सञ्चालन गरिने, भौतिक पूर्वाधारतर्फ सुखी जीवनको लागि पूर्वाधारमा लगानी कार्यक्रम अगाडि बढाउने प्रतिबद्धता गरेको छ ।