• १९ असोज २०८१, शनिबार

मोगादिसुमा आत्मघाती बम आक्रमण : १५ जनाको मृत्यु

blog

फाइल तस्बिर

मोगादिसु, कात्तिक २० गते । मोगादिसुको दक्षिणी भागमा रहेको सैन्य प्रशिक्षण शिविरको प्रवेशद्वारमा शनिबार साँझ भएको आत्मघाती बम विस्फोटमा कम्तीमा १५ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले आइतबार जानकारी दिएका छन् ।

हताहत हुनेहरूमा सर्वसाधारण र नयाँ भर्ती भएकाहरु रहेका गारोवे न्यूज पोर्टलले एक सैन्य अधिकारीलाई उद्धृत गर्दै जानकारी दिएको छ । यस आक्रमणमा परी धेरै मानिसहरू घाइते भएका जनाइएको छ । इस्लामिक लडाकू समूह अल–शबाबले यस आक्रमणको जिम्मेवारी लिएको छ ।

इस्लामवादी लडाकू समूह अल–शबाबले आक्रमणको जिम्मेवारी लिएका अन्य स्थानीय सञ्चार माध्यमले पनि जानकारी दिएको छ । सोमालियाको हिरान क्षेत्रको एउटा गाउँमा गत बिहीबार साँझ सरकार समर्थक मिलिशियाले समर्थन गरेको सोमाली राष्ट्रिय सेनाले एक सयभन्दा बढी अल–शबाब लडाकूहरुलाई मारेको जनाइएको छ ।

एक हप्ताअघि मोगादिसुमा सोमालियाको शिक्षा मन्त्रालयको भवन लक्षित गरी दुईवटा कार बम विस्फाेटमा कम्तीमा  एक सय जनाको मृत्यु हुनुका साथै तीन सयभन्दा बढी घाइते भएका थिए ।

अल–शबाबले सोमालियाको केन्द्रीय सरकारलाई ध्वस्त पार्न र इस्लामिक कानुनको कडा व्याख्याको आधारमा आफ्नै शासन स्थापना गर्न एक दशकभन्दा बढी समयदेखि लडिरहेको छ । रासस/सिन्ह्वा