• १२ असोज २०८१, शनिबार

मोरङ क्षेत्र नं. २

सुजाता र ऋषिकेशबीच चुनावी प्रतिस्पर्धा

blog

सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइराला र उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार ऋषिकेश पोख्रेल । फाइल तस्बिर

हरि कोइराला

उर्लाबारी, कात्तिक २० गते । निर्वाचनको मिति नजिकिएसँगै मोरङ– २ मा दलका उम्मेदवार र स्वतन्त्र उमेदवारहरूले प्रचारप्रसारलाई तीव्र पारेका छन् । सत्ता गठबन्धनले नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य तथा  पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला, नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट पार्टीका जिल्ला अध्यक्ष  तथा पूर्व सांसद ऋषिकेश पोख्रेलसहित १० वटा दलका उम्मेदवार र तीन स्वतन्त्र गरी १३ जना उम्मेदवार हुनुहुन्छ । 

अन्यमा राप्रपाले गोपाल दाहाल, नेमकिपाले सुरेश कवाँ, लोसपाले नारायणप्रसाद गनगाईं, राष्ट्रिय स्वतन्त्र पार्टीले ठगेन्द्रप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ । 

यस्तै, नेशनल पिपलिष्ट पार्टीले मीना कटुवाल बुढाथोकी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय पार्टीले खिलबहादुर खड्का, मङ्गोल नेशनल अर्गनाइजेसनले नारायण विशंखे र हाम्रो नेपाली पार्टीले विनोदमणि भट्टराईलाई उम्मेदवार बनाएको छ । 

यसैगरी, राजकुमार शिवाकोटी, विशेश्वर ऋषिदेव र सुनीलकुमार साह स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । 

सत्ता गठबन्धनका उम्मेदवार सुजाता कोइराला गठबन्धनको सहयोगमा चुनाव जित्नेमा ढुक्क हुनुहुन्छ । दिवंगत हुनुभएका गिरिजाप्रसाद कोइरालाको राजनीतिक भूमिमा विगतमा उहाँले गरेका विकास निर्माणलाई चुनावी एजेण्डा बनाउनुभएको छ । 


कोइरालाले विपन्नका लागि स्वरोजगार कार्यक्रम, कृषि उत्पादनका लागि सिंचाइ र प्रविधि रतुवाको पुल निर्माण र खोला तटबन्धलाई प्रमुख एजेण्डा बनाउनुभएको छ ।

नेत्री कोइरालाले एमालेले दुई दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई संवैधानिक सङ्कटमा पारेकाले संविधानको रक्षा, प्रजातन्त्र र बहुलवादको संरक्षणका लागि मत मागिरहनुभएको छ । 

यता, एमाले उम्मेदवार ऋषिकेश पोख्रेल तेस्रो पटक चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । दोस्रो संविधान सभा निर्वाचनमा कांग्रेस नेता आमोदप्रसाद उपाध्यायलाई हराएर सिंहदवार छिर्नुभएका पोख्रेल वि.सं. २०७४ को निर्वाचनमा कांग्रेसका नेता डा. मीनेन्द्रप्रसाद रिजालसँग पराजित हुनुभएको थियो ।

वि.सं. २०७४ मा प्रतिनिधि सभामा वाम गठबन्धनका सबै उम्मेदवारले जित्दा पोख्रेल मात्र पराजित हुुनुभएको थियो । रिजाल एक हजार ८०५ मतले पछि पार्दै निर्वाचित हुनुभएको थियो थियो । रिजालले ३५ हजार ८१९ मत प्राप्त गर्दा वाम गठबन्धनका उम्मेदवार पोखरेलले ३४ हजार १४ मत प्राप्त गर्नुभएको थियो ।


पोख्रेल अहिले शिक्षा, स्वास्थ्य, नदी नियन्त्रण र व्यवस्थापन, नागरिकका न्यूनतम आधारभूत आवश्यकता पूरा गर्नका लागि नीति निर्माण, परम्परागत कृषि प्रणालीलाई सुधार गर्ने एजेण्डा लिएर मत मागिरहनुभएको छ । 

उहाँले गोरखापत्रसँग भन्नुभयो – ‘विगतमा नेपाली कांग्रेससँग प्रतिस्पर्धा थियो । अहिले प्रतिस्पर्धा छैन, एमाले जित नजिक पुगेको उहाँले भन्नुभयो ।’ 

मोरङ क्षेत्र नम्बर २ (१) मा सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का गणेश उप्रेती, एमालेतर्फबाट दानबहादुर कार्की चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यहाँ सात वटा दल र चार जना स्वतन्त्र गरी ११ जनाको उम्मेदवारी परेको छ । यहाँ ६१ हजार ५८ मतदाता छन् ।

त्यस्तै, मोरङ २(२) मा नेपाली कांग्रेसका विनोद कार्की र नेकपा एमालेका लीलावल्लभ अधिकारी मुख्य प्रतिस्पर्धी हुनुहुन्छ । ६३ हजार ६७१ मतदाता रहेको यस निर्वाचन क्षेत्रमा ७ दल र २ स्वतन्त्र गरी ९ जना उम्मेदवार चुनावी मैदानमा छन् । 

मोरङ २ मा ६८ मतदानस्थल र १५१ मतदान केन्द्र रहेका छन् । दक्षिण पूर्वी मोरङका रतुवामाई र सुनवर्सी नगरपालिका, पथरीशनिश्चरे नगरपालिकाका दुईवटा वडा (५ र ६), कानेपोखरी गाउँपालिकाका ३ वटा वडा (१, २ र ३) र रङ्गेली नगरपालिकाका ५ वटा वडा १, २, ३, ८ र ९) रहेको यस निर्वाचन क्षेत्रमा एक लाख २३ हजार ६१५ जना मतदाता छन् ।