• १३ साउन २०८१, आइतबार

निर्वाचनपछि कांग्रेस नेतृत्वमा स्थायी सरकार : प्रवक्ता महत

blog

दोधारा चाँदनी,  कात्तिक  २० गते । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आगामी मङ्सिरमा हुने निर्वाचनपछि नेपाली कांग्रेसको नेतृत्वमा स्थायी सरकार निर्माण हुने बताउनुभएको छ ।

प्रवक्ता डा. महतले भन्नुभयो, “लामो समयदेखि अवरुद्ध विकास प्रक्रियालाई गति दिन तथा नेपालको समृद्धिका लागि पनि कांग्रेसको नेतृत्वमा सरकार आवश्यक छ र आगामी निर्वाचनपछि यस्तो सरकार बन्छ ।” 

आइतबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “विभिन्नरुपमा संविधानको मूल मर्ममाथि प्रहार हुन थाल्यो । प्रतिगामी विभिन्न बहानामा सलबलाउने जस्तो देखियो र नेपाली जनताले नै वर्तमान सरकारको चाहाना गरेका हुन् । अब पनि संविधानको रक्षा र देशको विकास गर्नु छ, हाम्रो यही दायित्व बहन गर्न कांग्रेस नेतृत्वको सरका आवश्यक हो ।” 

प्रवक्ता डा. महतले यो निर्वाचन सबैका लागि कोसेढुङ्गा साबित हुने पनि बताउनुभयो । उहाँले निर्वाचनपछि मुलुकमा स्थायी सरकार बन्नेमा जोड दिनुभयो । उहाँले निर्वाचनमा कांग्रेस नेतृत्वको वर्तमान सत्ता साझेदार दलको गठबन्धनले नै स्पष्ट बहुमत हासिल गर्ने बताउनुभयो । “यो निर्वाचनमा स्पष्ट बहुमत कांग्रेसको पक्षमा आउँछ र कांग्रेसकै नेतृत्वमा सरकार पनि बन्छ ।” 

उहाँले भन्नुभयो, “हिजो संसद्मा नेपाली कांग्रेस थोरै सिटका साथ उपस्थित थियो र पनि नेपाली जनता तथा कांग्रेसबाहेकका अन्य पार्टीले कांग्रेसकै नेतृत्वको अपेक्षा गरे भने अबको चुनावपछि त कांग्रेस पहिलो पार्टी नै बन्ने निश्चित छ ।” प्रवक्ता महतले नेपाली कांग्रेसले आगामी चुनावमा समानुपातिकमा मत प्रतिशत पहिलेको तुलनामा धेरै बढाउने बताउनुभयो ।

गठबन्धनका दलको उद्देश्य एउटै भएकाले गठबन्धन गरिएको हो भन्दै चुनावपछि यही गठबन्धन मिलेर सरकार बनाउने र देशमा विकासको लहर ल्याउने उहाँको दाबी थियो ।