• ८ मंसिर २०८१, शनिबार

सामाचकेवा पर्व भोलि विसर्जन गरिँदै

blog

जनकपुरधामस्थित टोलका गल्लीमा महिलाहरूले खेल्दै गरेको सामा । तस्बिर: लक्ष्मी चौधरी

जनकपुरधाम, कात्तिक २० गते । कात्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म मिथिलामा मनाइने सामाचकेवा पर्व अन्तिम चरणमा पुगेको छ । 

दिदी भाइको प्रेमको प्रतिकका रूपमा मानिने सामाचकेवा पर्वमा साँझ पर्नासाथ गीत गाएर रमाउने आज अन्तिम दिन हो । भोलि पूर्णिमाका दिन खेत वा जलाशयमा गई विसर्जनपछि सामाचकेवा पर्व समापन हुन्छ । 

मिथिलामा सामाचकेवालाई ‘सामा’ मात्र पनि भन्ने गरिन्छ, दिदीबहिनीले दाजु भाइका प्रगतिको कामना गर्दै गाइने गीतसहितको पर्व सामा छठको दिनदेखि खेल्न थालिएको हो । कात्तिक शुक्ल पञ्चमीदेखि कात्तिक पूर्णिमासम्म मिथिलाका टोल टोलका गल्ली गुन्जिएका हुन्छन् । 

मिथिलामा मनाइने दिदी भाइको पर्वमध्ये यो तेस्रो पर्व हो । यसअघि जनै पूर्णिमाको दिन मनाइने रक्षा बन्धन (राखी) र भाइटिकाको दिन मनाइने भाइदुजपछि सुरु भएको दिदी भाइको तेस्रो पर्व यो सामाचकेवा हो । 

साँझ पर्नासाथ टोल छिमेककी महिलाहरू चोकमा भेला भएपछि सामाचकेवाको टोकरी ल्याई दियो बाली सामा गीतसँगै सामा राखिएका टोकरी आपसमा साटासाट गर्दै सामा खेल्ने परम्परा छ । टोकरी साटासाट गर्नुको अर्थ हो–आपसी सद्भाव, टोल–छिमेकका दाजुभाइ र दिदीबहिनी साझा हुनु हो र यसले मैथिल संस्कृति परम्परालाई जोगाएर पनि राखेको छ, जनकपुरधाम वडा नम्बर ८ की सुनितादेवी रायले भन्नुभयो । 

प्रत्येक साँझ खेलिने सामा भोलि भसाए (विसर्जन) पछि समापन हुन्छ । उहाँ भन्नुहुन्छ,‘सामा खेल्नका लागि बनाइएका माटाका प्रतिमालाई जलाशय वा खेतमा भसाएपछि सामा समापन हुन्छ ।’ सामामा बनाइएका पात्र हुन्, श्यामा (सामा), चकेवा (चक्रवाक), शाम्व, चुकला, सतभैया, झारझुर कुकुर, वृन्दावन लगायत ।

यी पात्रको स्वरूप माटो, जुट, करजन्नी लगायतका स्थानीय उत्पादनबाट निर्माण गरिन्छ । पूर्णिमाको दिन माटो निर्मित प्रतिमालाई दाजुभाइले भाँचेपछि खेत वा जलाशयमा सेलाउने परम्परा रहँदै आएको सुनिता देवी भन्नुहुन्छ । 

‘सामाचकेवा पर्वले समाजलाई जोडेको छ । गाउँ टोलमा जातीय, धार्मिक, वर्गीय भिन्नताको बाबजुद पनि आत्मीय सम्बन्ध स्थापना गर्न सघाएको छ,’ चलचित्र तथा लोक सञ्चार प्रवर्द्धन बोर्ड मधेस प्रदेशका सदस्य तथा मैथिली गीतकार अशोक दत्तले भन्नुभयो । झिझिया, जट–जटिन, डोमकच र सामाचकेवाजस्ता पर्वमा मिथिलामा गाइने लोक गीतले मिथिलाको संस्कृति जगेर्नामा मदत पुगेको उहाँले भन्नुभयो । 

Author

लक्ष्मी चौधरी