• १३ साउन २०८१, आइतबार

बाढीपीडित भन्छन् : हाम्रो समस्या समाधान गर्नेलाई मत

blog

शैलेन्द्र रोकाया

बझाङ, कात्तिक २० गते  । गत वर्ष कात्तिक महिनामा परेको अविरल वर्षाले उत्पन्न भएको बाढीपहिरोमा परी बिचल्लीमा परेका यहाँका बाढीपीडितहरूले आफ्नो समस्या समाधान गर्ने दललाई मत दिने बताएका छन् । 

बाढीपहिरोका कारण पुख्र्यौली थातबासबाट उठीबास भएका जिल्लाको खप्तडछान्ना गाउँपालिकाका बाढीपीडितहरूले आफूहरू घरबारविहीन भएको अवस्थामा जुन दलले आफ्ना समस्या समाधान गर्छ त्यही दल र उम्मेदवारलाई मत दिने बताएका छन् । 

आसन्न निर्वाचनका लागि उम्मेदवारहरूले घरदैलोमा कार्यक्रम गरिरहेका बेला विगतमा नेताहरूले आफूहरूको समस्या समाधान गर्न कुनै पनि पहल नगरेको भन्दै दुखेसो पोखेका छन् । आगामी निर्वाचनमा बाढीपीडितका समस्या समाधान गर्ने प्रतिबद्धता गराएर मात्र कुनै पनि दलको प्रतिनिधिहरूलाई मत दिने यहाँका स्थानीयले बताएका छन् । 

खप्तडछान्ना–१, खातीगाउँका सुरेन्द्र खातीले भन्नुभयो, “एक वर्ष पीडा र आश्वासनमा बितायौँ । सरकारी क्षेत्रबाट सोचे जति सहयोग भएन । यो निर्वाचनमा भने हाम्रा समस्या समाधान गर्नेलाई कसम खुवाएर मात्र मत हाल्ने निर्णयमा पुगेका छाँै ।” बाढीपहिरोका कारण उठीबास भएका जिल्लाको खप्तडछान्ना गाउँपालिकाका झन्डै ७७ परिवार अहिलेसम्म पनि बिचल्लीमै छन् । कसैको बस्ने घर छैन भने कसैले आफन्तको गोठ तथा घरमा शरण लिएर बसेका छन् । 

कमाइ खाने खेतजिउलाहरू बगरमा परिणत भएपछि यहाँका बाढीपीडितलाई एक छाक टार्नसमेत धौधौ भएको छ । घर, खेत बगाएर सुकुम्बासी बनेका खप्तडछान्ना–१, का रिने खातीले भन्नुभयो, “धेरै पटक विभिन्न सरकारी तथा गैरसरकारी  निकायहरूमा धाउँदै आएको छु । सबै ठाउँबाट आश्वासन मात्र पाइयो । अझ चुनावका बेला पनि मत देऊ भनेर आइसके । जसले हाम्रा समस्या सुन्छन् र काम गर्छन्, उसलाई कसम खुवाएर मात्र भोट दिन्छौँ ।” 

यस वर्षसमेत ठूलो बाढी आउँछ कि भनेर हरेक राति नसुतेर बस्नु परेको खाती गाउँवासीका कथा झन् घत लाग्दा छन् । खप्तडछान्ना गाउँपालिका–१, खाती गाउँका हर्क खातीले भन्नुभयो, “घरको आँगनमै खोला बगेको छ । आकाशमा बादल मडारिन थाल्दा पोहोरसालको जस्तै हुने हो कि भन्ने चिन्ता लाग्छ । पोहोर त धेरै पर थियो खोला, यसपालि त आँगन भएर खोला बगेको छ । त्यसैले हामी राति सुत्न सक्ने अवस्थामा छैनौँ । 

गएको वर्षासंँगै आएको बाढीले बगाएको खाती गाउँलगायतका अधिकांश बस्ती जडारीगाड (खोला)ले कटान गरिरहेको छ । खप्तडछान्ना गाउँपालिकाको कालुखेती, घाँट खोला, पसल बगर, ऐचेली बगर, खाती गाउँ र ऐराडालगायतका एक दर्जनभन्दा बढी गाउँ अझै बाढी र पहिरोको उच्च जोखिममा छन् । 

गाउँपालिकाको मुख्य आवतजावत गर्ने सडकसमेत बिग्रेको छ । गाउँपालिकाको मुख्य बाटो मष्टाको पातीहल्ना र घाँट खोला नजिकै खडिमेलामा लगातार पहिरो बगिरहेकाले ज्यान जोखिममा राखेर हिँड्नुपर्ने बाध्यता कायमै छ । 

गएको हप्ता घरदैलो अभियान गरेको नेकपा (एमाले)का उम्मेदवारसहितको टोलीलाई घर, खेत बगाएको बगर देखाउँदै बाढीपहिरो पीडितहरूले आफ्ना समस्याप्रति संवेदनशील हुने वाचा गरे मात्र मत दिने बताए । सत्ता गठबन्धनका उम्मेदवारहरूलाई समेत पीडितहरूले त्यही कुरा दोहो-याए ।  

खप्तडछान्ना गाउँपालिका अध्यक्ष उत्तमबहादुर रोकायाले भन्नुभयो, “गाउँपालिकाको सीमित स्रोत र साधनले नभ्याउने भएकाले पटक/पटक प्रदेश सरकार र सङ्घीय सरकारलाई पहल गरिरहेका छौँ । गृह मन्त्रालयलगायतका सरोकारवाला निकायमा डेलिगेसनसमेत गएर ध्यानाकर्षण गराएका छौँ तर यस वर्ष केही सम्बोधन हुन्छ होला ।” उहाँकाअनुसार घर पूर्ण रूपमा क्षति भएका परिवारका लागि सरकारले घर बनाउन प्रतिपरिवार पाँच लाख रुपियाँ दिइरहेको छ ।  

गएको वर्ष धान भिœयाएर गहुँ छर्ने तयारीमा रहेका यहाँका किसानको सयौँ हेक्टर उर्वरभूमि बाढी र पहिरोका कारण बगर बनेको खप्तडछान्नाका झन्डै एक सयभन्दा बढी परिवारको बाढीले उठीबास लगाएको थियो ।