भैरहवा समाचारदाता
भैरहवा, साउन २५ गते । रूपन्देही जिल्ला कारागार भैरहवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि कुनै किसिमको विभेद नगरिएको स्पष्ट पारेको छ । कारागार प्रशासनले विज्ञप्ति जारी गर्दै लामिछानेको मानव अधिकार हनन नभएको बताएको छ । पछिल्लो समय विभिन्न सञ्चार माध्याममा आएका समाचारको खण्डन गर्दै कारागार प्रशासनले रास्वपा सभापति लामिछानेप्रति कुनै फरक व्यवहार नगरिएको बताएको छ ।
कारागार प्रशासक सुरेश भण्डारीले जारी गरेको विज्ञप्तिमा कारागारमा रहेका अन्य कैदीबन्दी सरह नै पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहनुभएका लामिछानेलाई व्यवहार गरिएको उल्लेख छ ।
प्रशासक भण्डारीले लामिछानेको सुरक्षालाई ध्यानमा राखेर छुट्टै कोठाको व्यवस्था गरिएको बताउनुभयो । उहाँले कारागार प्रशासनले समय/समयमा लामिछानेलाई भेट गरी समस्या तथा आवश्यकताका सम्बन्धमा सोधपुछ गर्ने गरेको र देखिएका समस्या समाधानसमेत गरेको जानकारी दिनुभयो ।
कारागार प्रशासनका अनुसार रास्वपा सभापति लामिछानेले चाहेको खण्डमा भेट्न खोजेका व्यक्तिलाई भेट गर्न दिनुका साथै सञ्चार उपकरण प्रयोग गर्ने वातावरण मिलाएको छ । कारागार प्रशासक भण्डारीले कारागारभित्र कुनै पनि भिआइपी सुविधा नभएको बताउँदै लामिछानेलाई कुनै भिआइपी सुविधा नदिइएको जानकारी दिनुभयो ।
सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा पुर्पक्षका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई विगत चार महिनादेखि जिल्ला कारागार कार्यालय भैरहवामा राखिएको छ । लामिछानेलाई कारागार प्रशासनले ‘चार नम्बर ब्लक’ मा राखेको छ ।