• २६ साउन २०८२, सोमबार

बबईले घेरिएको गाउँमा रातदिन त्रास

blog

ज्योति पन्थी 

बबई (बर्दिया), साउन २५ गते । गुलरिया नगरपालिका वडा नं. १० मा रहेको महजिदियागाउँ चारैतिरबाट बबई नदीले घेरिएको छ । गाउँको सबै कारोबार दक्षिणतर्फ पर्ने भारतीय बजारसँग हुने गरेको छ । यहाँका बालबालिका विद्यालय अध्ययन गर्नसमेत भारतको गाउँमा जाने गर्छन् भने उनीहरूले नेपालीभन्दा पनि हिन्दी भाषाको बढी ज्ञान हुने गरेको छ । 

मल्लाह जातिको बसोवास रहेको महजिदियागाउँमा बसोवास गर्ने महल्लाह ६०–७० वर्ष पहिला जमिन्दारहरूको काम गर्न भारतबाट बर्दिया पुगेका बताइन्छ । कामदारका रूपमा आएका  महल्लाह समुदायको बसोवास महजिदियागाउँमै भयो । २०७१ सालमा बबई नदीमा बाढी आउँदा महजिदियागाउँ सबै डुबायो । त्यसै गरी २०७४ र २०७९ सालको बाढीले पनि महजिदियागाउँलाई निकै दुःख दियो । धेरै पटक बाढीले पीडित भएका यो समुदायका मानिसले यही थातथलोलाई छाड्न सकेका छैनन् । बाढीबाट हैरान भएका महजिदियागाउँका स्थानीयलाई स्थानान्तरण गर्न गुलरिया नगरपालिकाले केही घर निर्माण गरेर अन्यत्र सार्दा पनि अहिले सम्म त्यो गाउँ खाली हुन सकेको छैन । 

सदरमुकाम केन्द्रित वडा नं. १० को महजिदियागाउँको अहिले पनि चारैतिरबाट बबई नदीले घरेको छ । जसले गर्दा उनीहरूलाई गुलरिया बजार आउनभन्दा भारतको लौकाही र चित्लहवा बजार जान सहज हुने गरेको छ । नेपाली बजार होस वा भारतीय बजार जता जाँदा पनि उनीहरू डुङ्गाको सहारामा बबई नदी पार गरेर जानुपर्ने हुन्छ । प्रत्येक वर्ष नदीको बाढीले महजिदियागाउँ नै बगाउने गर्छ तर पनि गाउँका स्थानीयले त्यो टापुलाई छोड्न सकेका छैनन् । गुलरिया नगरपालिका–१०, महजिदियाका ८० वर्षीय वैजनाथ मल्लाहले आफूहरू यही जन्मिएर हुर्किएकाले गाउँ छाड्न नसकेको बताउनुभयो । 

ज्याला मजदुरी गरेर खाने मल्लाह जातिका मानिस बस्ने उक्त गाउँ सधैँ खतरामा छ । सदरमुकाम गुलरिया आउन परे पनि उनीहरू डुङ्गा चढेर आउनुपर्ने हुन्छ । नगरपालिकाले घर बनाएर अन्यत्र सारेका स्थानीयबाहेक अहिले पनि २४ घरपरिवार महजिदियागाउँमा बसोवास गर्दै आएका छन् । सधैँ बाढी आउने उक्त क्षेत्रमा कुनै पनि किसिमको सुविधा छैन । बाढी आएर गाउँ पसे पनि भाग्नसमेत समस्या छ । महजिदियागाउँका ७५ वर्षका लक्ष्मण मल्लाहले नेपालमा बसे पनि आफूहरू भारतीय बजारसँग आश्रित हुनु परेको र बालबालिकाले पढ्ने विद्यालयसमेत भारतीय गाउँको भएकाले बालबालिका भारतीय भाषा बोल्ने गरेको बताउनुभयो ।

नदीको बिच भागमा रहेको गाउँमा न त खानेपानीको सुविधा छ न सडक सञ्जालको सुविधा छ । दैनिक दिनचर्या नै ज्याला मजदुरी गर्ने महजिदियागाउँका बासिन्दा सधैँ बबई नदीको त्रासमा बस्न बाध्य छन् । २०७१ सालमा बाढीले गाउँ बगाएपछि स्थानीय गैरसरकारी संस्था राधाकृष्ण थारू जनसेवा केन्द्रले गाउँमा निर्माण गरेको सेल्टर हाउस अहिले पनि महजिदियागाउँका स्थानीयले बाढीको समयमा प्रयोग गर्ने गरेका छन् ।