• २५ साउन २०८२, आइतबार

छ वर्षदेखि पुल अलपत्र

blog

सर्लाहीको गोडैता नगरपालिका–६, बगदहस्थित सोरमखोलाको अलपत्र पुल । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री 

सर्लाही, साउन २५ गते । सर्लाहीको गोडैता नगरपालिका–६, बगदहस्थित सोरमखोलाको पुल छ वर्षदेखि अलपत्र रहँदा स्थानीय सास्ती खेप्न बाध्य छन् ।  

बगदहदेखि सीमावर्ती गाउँ बहादुरपुरलाई जोड्ने कालोपत्रे सडक अन्तर्गत सोरमखोलामा लामो समयदेखि पुल निर्माण कार्य अधुरो रहँदा स्थानीयलाई आवतजावत गर्न समस्या परेको हो । हिराचन्द, अञ्जना जेभीले पुल निर्माणका लागि २०७४ फागुन ११ गते चार करोड २७ लाख ७९ हजार ३०८ रुपियाँमा ठेक्का सकार गरेको थियो । 

२०७६ पुस १० गतेभित्र पुल निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि आजको मितिसम्म पुल निर्माण कार्य अलपत्र रहेको छ । निर्माण सम्पन्न गर्ने सम्झौता अवधि सकिएको छ वर्ष भइसक्दा पनि आजसम्म पुल निर्माण कार्य अलपत्र अवस्थामा रहेको हो । 

गोडैता नगरपालिका–१, बहादुरपुरका वीरेन्द्रकुमार यादवले पुल निर्माणको काम पूरा नहुँदा वर्षायाममा आवतजावत गर्न असाध्यै समस्या परेको गुनासो गर्नुभयो । उहाँका अनुसार खोलामा बाढी आएको समयमा गोडैता बजारमा रहेको विद्यालयमा पढ्न जाने विद्यार्थी, खेतमा पुग्नुपर्ने किसान र दैनिक ओहोरदोहोर गरिरहने यात्रु प्रभावित हुँदै आएका छन् । पुल सञ्चालन नहुँदा बाढी आएको समयमा आउजाउ नै ठप्प हुने गरेको यादवले जानकारी दिनुभयो । यादवले भन्नुभयो, “यो पुल नबन्दा असाध्यै दुःख खेप्नु परेको छ । बाढी आएको दिन वारपार गर्न सक्ने अवस्था हुँदैन ।”  

गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र यादवले ठेकेदारले पुल अलपत्र छाडेपछि पालिकाबाटै बारम्बार डाइभर्सन निर्माण गरेर आवतजावत गर्ने व्यवस्था मिलाउँदै आएको जानकारी दिनुभयो । मेयर यादवले भन्नुभयो, “पुलको विषयमा सडक डिभिजन चन्द्रनिगापुरका डिई र सिडियो साबलाई भन्दा पनि ठेकेदारलाई केही फरक परेको छैन् । ठेकेदारले डाइभर्सनसमेत नबनाएपछि पालिकाबाटै डाइभर्सन बनाएर आउजाउ गर्ने व्यवस्था मिलाएका छौँ ।”

सोरमखोलामा पुल नहुँदा बाढी आएको समयमा सीमावर्ती गोडैता नगरपालिका १, २ र ३ का स्थानीयको उत्तरी भेगसँग सम्पर्क टुट्ने गरेको नगर प्रमुख यादवको भनाइ छ । नगरप्रमुख यादवले भन्नुभयो, “म पालिका आउने सडक पनि यही हो तर ठुलो बाढी आएको दिन कार्यालय आउन नसकेर घरमै बस्नुपर्ने हुन्छ ।” 

सडक डिभिजन चन्द्रनिगाहपुरका अनुसार सोरमखोलाको अलपत्र पुल निर्माण गर्ने जिम्मेवारी पाएको हिराचन्द-अञ्जना जेभीलाई पुल निर्माणको काम सक्न अहिलेसम्म चार पटक म्याद थप भइसकेको छ । कार्यालयका इन्जिनियर दीपेन्द्रकुमार साहका अनुसार पछिल्लो पटक सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँबाट पुनः २०८२ पुस ३० गतेभित्र पुल निर्माणको काम सम्पन्न गर्ने गरी म्याद प्रदान गरिएको छ । इन्जिनियर साहले निर्माण व्यवसायी बिक्रन्त महतोले अब पुसभित्रमा पुल निर्माण कार्य सक्ने प्रतिबद्धता जनाएका जानकारी दिनुभयो । इन्जिनियर साहले भन्नुभयो, “यो पटक उहाँ (ठेकेदार) ले अन्य अधुरा सडकको काम पनि पूरा गर्नुभएकाले सोरमखोलाको पुलसमेत बनाउनुहुन्छ भन्ने विश्वास लिएका छौँ ।”

सोरमखोलाको पुल लगभग तयार भइसके पनि खोलामा तटबन्ध कस्ने (रिभर ट्रेनिङ) र पहुँच सडक (एपरोज रोड) निर्माण गर्न बाँकी रहेको छ । ठेकेदारले दुई वटा काम तत्कालै गरे पुल सञ्चालन भइहाल्ने अवस्था रहेको इन्जिनियर साहले बताउनुभयो । ठेकेदारलाई पुल निर्माणको काम सक्न बारम्बार ताकिता गरे पनि आर्थिक कारण देखाएर काममा आलटाल गर्दै आइरहेका सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।