• १३ साउन २०८१, आइतबार

आफ्नै पनमा रमाइरहेको काँठ क्षेत्र (फोटो फिचर)

blog

तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौं, कात्तिक १९ गते । यस वर्षको दशैं झरीमै सकियो । त्यसपछिका केही दिनसम्म मौसम पूर्ण रूपले खुल्न सकेन । मनसुन सकिएसँगै झरी र बादलले छोडेपछि भने मौसममा सुधार आएको छ । आकाश नीला देखिएका छन् । टाढाका हिमाल आँखै अगाडि आएका छन् ।


काठमाडौं उपत्यकाबाटै दुई सय किलोमिटर पर भएको विश्वकै सर्वोच्च शिखर सगरमाथा देखिन थालेको छ । अन्य हिमशृङ्खलाको दृश्य पनि कम्ती मनमोहक छैनन् । शरद ऋतुको आगमनसँगै काठमाडौं उपत्यकाबाट देखिने विभिन्न हिमशृङ्खलाले उपत्यकामा बस्ने सर्वसाधारणदेखि विदेशी पर्यटकलाईसमेत लोभ्याएको छ ।


प्रदूषणका कारण हत्तपत्त उपत्यकावासीले खुलेका आकाश र हिमाल देख्न पाउँदैनन् । उपत्यकामा प्रदूषणले नढाकेसम्म देखिने हिमालका दृश्य प्रदूषण बढेसँगै बिस्तारै विलीन हुँदै जान्छन् । केही दिन यता काठमाडौंको आकाश धुम्म हुँदै गइरहेको छ ।


भारतमा पराल पोलेको प्रदूषण काठमाडौंको आकाशमा अड्किँदा त्यति खुल्न सकेको छैन । तर पनि धुवाँकै बीचमा काठमाडौंको काँठ क्षेत्र आफ्नै पनमा रमाइरहेको देख्न सकिन्छ ।


काँठ क्षेत्र हिमालको काखमा लुकेको जस्तो देखिन्छ भने खेतमा पाकेको धानले झनै सुन्दरता थपेको छ । उदाउँदो सूर्यले झनै काँठ क्षेत्रको सुन्दरतालाई बढाएको छ, हरियो बोटबिरुवाको आफ्नै सुन्दरता थपिएको छ ।


उदाउँदो घामसँगै किसानहरू खेतबारीमा काम गर्न मस्त देखिन्छन्, चराचुरुङ्गीको सुरिलो आवाजले त झनै मन शान्त बनाउँछ । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले खिचेका काठमाडौंको काँठ क्षेत्रका यी मनमोहक दृश्य ।