• १३ साउन २०८१, आइतबार

गोवरगाढामा हेलिकप्टरद्वारा मतपेटिका लगिने

blog

सप्तरीका प्रमुख जिल्ला अधिकारीसहितको टोली गोवरगाढा बस्तीको स्थलगत अवलोकनमा गर्दै । तस्बिर – ललिता साह

ललिता साह

वोदेवसाईन (सप्तरी) कार्तिक १९ गते । भौगोलिक रूपमा सप्तकोसी नदीले चारैतिरबाट घेरिएको गोवरगाढा मतदानस्थलमा मङ्सिर – ४ मा हुन गइरहेको निर्वाचनको लागि मतपेटिकालगायतका निर्वाचन सामग्रीहरु हेलिकप्टरबाट लगिने तय भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिनुभयो ।

योसँगै गोवरगाढा बस्तीको खुला चौरमा त्रिपाल लगाई मतदानस्थल बनाएर मङ्सिर – ४ को दिन मतदान गराउने जिल्लामा निर्वाचन विशेष सुरक्षा योजना अनुसार सर्वपक्षीय सहमतिमा ठाउँ व्यवस्थापन भइसकेको सप्तरीको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जनाउनुभयो ।

मतदानस्थल राख्दै आएको विद्यालय गत असारको बाढीले बगाएपछि सप्तरीका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लाका सुरक्षा संयन्त्र सहितका टोलीले गोवरगाढा टापुको स्थलगत अवलोकन पश्चात् यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी गराउनुभयो ।  

गोवरगाढाको शारदा आधारभूत विद्यालय बादीले बगाएसँगै हरेक चुनावमा राख्दैआएको मतदान स्थल पनि सप्तकोसी नदिले बगाएकोले मतदानस्थल कहाँ राख्ने भनेर समस्याको विषय बनेको थियो । स्थानीय सरकार तथा जिल्लास्थितका सुरक्षा संयन्त्रको निर्क्योलले विकल्पमा मतदानस्थल तय भएसँगै यो समस्याको समाधान भएको छ । उपरान्त निर्वाचन सम्पन्न गर्न आवश्यक सहयोग नगरले गर्न तयार रहेको हनुमाननगर  कंकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिमोहन सुतिहारले भन्नुभयो ।

भौगोलिक तवरमा पनि आइसोलेट अवस्थामै बुझ्नुपर्ने गोवरगाढा टापुमा निर्वाचन गराउन आफैँमा सुरक्षा चुनौती मानिन्छ । यसर्थ अन्यत्रभन्दा  गोबरगाढा मतदान केन्द्रको लागि चाहिने आवश्यक सुरक्षा व्यवस्था तथा थप जनशक्ति परिचालन गरिने सशस्त्र प्रहरी बल गण – ६ का प्रहरी उपरीक्षक तीर्थराज पौडेलले बताउनुभएको छ । 

वैकल्पिक मतदान स्थलको टुङ्गो लागेसँगै आफूहरू भोट कहाँ गएर खसाल्ने गोवरगाढा बस्तीका आठ सय मतदातामा रहेको अन्यौलताको अन्त्य भएको वडा अध्यक्ष कुशेश्वर यादवले भन्नुभयो ।

हनुमाननगर कंकालिनी नगरपालिका भित्रको –१४ वटा वडाको करिब एक दर्जन बढी मतदान स्थल अतिसंवेदनशील छन् भने भारतीय सीमावर्ती क्षेत्रको दशगज्जामै अवस्थित गोवरगाढा मतदान स्थल असुरक्षित समेत मानिँदै आएको सप्तरी प्रतिनिधिसभा क्षेत्र नम्बर एकका निर्वाचन अधिकृत धनेन्द्र अधिकारीले भन्नुभयो । 

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १३ मा पर्ने एउटा गाउँ गोबरगाढा जसलाई नेपालको टापुको रूपमा चिनिन्छ ।