• १६ भदौ २०८१, आइतबार

पोखराको दिगो विकासमा कोरियाको चासो

blog

कास्की समाचारदाता

कास्की, कात्तिक १९ गते  । दक्षिण कोरियाका राष्ट्रिय सभा सदस्य तथा दक्षिण एसिया क्षेत्रका कोरियाली प्रतिनिधि साङ्ग हेन लीसहितको टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग शिष्टाचार भेटवार्ता गरेको छ।

भेटवार्ताका क्रममा पोखराको दिगो विकास, फोहोरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन, हरित सहरी यातायातलगायतका विषयमा छलफल भएको प्रमुख आचार्यले बताउनुभयो। टोलीले पोखराको दिगो विकास, यहाँको फोहोर व्यवस्थापन तथा ट्राफिक व्यवस्थापन र हरियाली प्रवर्द्धनसहित हरित सहरी यातायात विकासका लागि कोरियाली सरकारका तर्फबाट आवश्यक सहयोग गर्ने पूर्व प्रतिबद्धता कार्यान्वयनको चरणमा रहेको बताएको छ। पोखराको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न, चक्रपथ निर्माण, व्यवस्थित बसपार्क, अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेकसाइडसम्म फास्ट ट्र्याक, फेवाताल–वेगनासताल जोड्ने पूर्वाधारलगायतका विषयमा पनि टोलीले अध्ययन गरिरहेको बताएको छ।

एक साताको नेपाल भ्रमणमा रहेको टोलीमा डेमोक्रेटिक पार्टी अफ कोरियाका तर्फबाट राष्ट्रिय सभा सदस्य साङ्ग हेन ली एवं कोरियाको निजी क्षेत्रका दुई व्यवसायी योङ प्यो किम र साङ्पिल किमको सहभागिता छ। 

भेटवार्तामा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती र सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रजङ्ग केसीको पनि सहभागिता थियो। टोली पोखरा महानगरपालिकाले प्रस्तुत गरेका सहकार्यका सम्भावित क्षेत्रहरूको अवलोकनका निम्ति तीन दिन पोखरामै रहनेछ। 

कोरियाली सांसदसहित त्यहाँको निजी क्षेत्रका व्यवसायीहरूको दोस्रो पटकको पोखरा भ्रमण र पोखराको विकासप्रति उनीहरूले देखाएको चासोप्रति पोखरा महानगरपालिकाका तर्फबाट प्रमुख आचार्यले धन्यवाद ज्ञापन गर्नुभयो। प्रमुख आचार्यसँग सो टोलीका नेता लीले यसअघि पनि शिष्टाचार भेट गर्नुभएको थियो।