• १३ साउन २०८१, आइतबार

झुलाघाटमा पक्की पुल बन्छ : अध्यक्ष ओली

blog

चुनावी सभालाई सम्बोधन गर्न बैतडी आइपुग्नुभएका एमाले अध्यक्ष केपी शर्मा ओली । तस्बिर : गोकर्ण दयाल

गोकर्ण दयाल

बैतडी, कात्तिक १८ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ पछि एमाले नेतृत्वमा सरकार बनेपछि झुलाघाटमा पक्की पुल निर्माण गर्ने प्रतिबद्धता जनाउनुभएको छ । शुक्रबार बैतडीको पाटनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सो प्रतिबद्धता जनाउनुभएको हो ।

शुक्रबार दार्चुला सदरमुकाम खलङ्गाबाट चुनावी अभियान सुरु गरेर सिम्रिक एयरको हेलिकप्टर मार्फत दिउँसो बैतडीको पाटन आइपुग्नु भएका अध्यक्ष ओलीले जुनसुकै काम गर्न पनि एमालेको सरकार चाहिने बताउनुभयो । बैतडीमा रहेका फस्फोराईट खानी र फलाम खानी उत्खनन गर्न पनि एमालेको सरकार आवश्यक रहेको उहाँको भनाइ छ ।  


महाकाली करिडोरको सुरुवात एमालेकै पालामा भएको दबी गर्दै अध्यक्ष ओलीले ४१ महिनामा आफ्नो सरकारले ८२ वटा देखिने काम गरेको बताउनुभयो । चुनावी सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “म पूर्वको मान्छे भएर पनि पश्चिमी सीमा नाकाको झुलाघाटको पुल देखिरहेको छु । एमालेका उम्मेदवारले मङ्सिर ४ गतेको निर्वाचन जितेपछि झुलाघाटमा पक्कीपुल, गोकुलेश्वर कृषि क्याम्पस र बैतडीको पाटनमा रहेको भीमदत्त प्रविधि शिक्षालयको थप स्तरोन्नति गरेर गेटा मेडिकल विश्वविद्यालयको काम अघि बढाउँछौँ ।” 

चुनावी सभालाई सम्बोधनपछि अध्यक्ष ओलीले बैतडीबाट प्रतिनिधिसभाका उम्मेदवार दामोदर भण्डारी, सुदूरपश्चिम प्रदेशसभा (क) का उम्मेदवार सुरेन्द्र पाल र प्रदेशसभा (ख) का उम्मेदवार लीलाधर भट्टलाई मञ्चबाट उठेर माला लगाउँदै जितको अग्रिम शुभकामना समेत दिनुभयो ।