• ९ मंसिर २०८१, आइतबार

विकासको खाका गठबन्धनसँग छ : गृहमन्त्री खाण

blog

तरुण भेलामा सम्बोधन गर्नुहुँदै गृहमन्त्री बालकृष्ण खाण । तस्बिर : श्यामशंकर पाण्डे

श्यामशंकर पाण्डे

लुम्बिनी, कत्तिक १८ गते । गृहमन्त्री बालकृष्ण खाणले विकासको स्पष्ट खाका पाँच दलीय गठबन्धनसँग रहेको बताउनुभएको छ । मुलुकमा, शान्ति, स्थिरता, विकास, सुशासन र समृद्धिका लागि पाँच दलीय गठबन्धन निर्माण भएको उहाँले प्रष्ट पार्नुभयो ।  

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् गठबन्धन तर्फबाट रुपन्देही क्षेत्र नं ३ का प्रतिनिधि सभा उम्मेदवार समेत रहनुभएका मन्त्री खाणले शुक्रवार शुद्धोदनमा तरुण भेलामा बोल्दै जनतामा भिजेका, विकासको झोला बोकेका उम्मेदवारलाई आगामी मसिंर ४ को निर्वाचनमा विजयी बनाउन आह्वान गर्नुभयो । ‘रुपन्देहीको विकासले देशभरिका युवालाई उत्साहित गर्नेछ । नेपाल बनाउने अभिभारा हाम्रो काँधमा छ । युवाको साथ जरुरी छ’ उहाँले भन्नुभयो ।

नेकपा (एमाले), राप्रपा र जसपाबीचको तीन दलीय गठबन्धन पश्चगामी भएको उहाँले आरोप लगाउनुभयो । तीन दलीय गठबन्धनले देश चलाउन नसक्ने उहाँले बताउनुभयो ।  २०७४ को निर्वाचनमा एमालेले बहुमत ल्याउँदा पनि सरकार चलाउन नसकेको उहाँले टिप्पणी गर्नुभयो । मुलुकको वर्तमान व्यवस्थालाई जोगाउँदै अग्रगमन चाहने सबैले पाँच दलीय गठबन्धनका उम्मेदवारलाई विजयी गराउन उहाँले आग्रह गर्नुभयो ।  


‘लोकतान्त्रिक गणतन्त्रबाट नै जनता मालिक बनेका हुन् । गणतन्त्रको माध्यमबाट नेपाली नागरिकको अवस्था बदल्न र रोजगारी सृजना गरी जनतालाई खुसीयालीमा बदल्न पनि पाँच दलीय गठबन्धन आवश्यक छ’ मन्त्री खाणले भन्नुभयो, ‘पश्चगामीहरूले जित्नु भनेको देशको विकास र राजनीति पछाडि फर्कनु हो ।’