• १६ भदौ २०८१, आइतबार

मतदाता शिक्षा अभियानमा स्वयंसेविका

blog

बागलुङ समाचारदाता

बागलुङ, कात्तिक १८ गते । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदातालाई मतदान प्रक्रियाबारे सचेत गराउने उद्देश्यले बागलुङका सबै वडाहरूमा मतदाता शिक्षा सञ्चालनको तयारी गरिएको छ। 

निर्वाचन आयोगको निर्देशिकाअनुसार जिल्लाका दसवटै स्थानीय तहले सबै वडामा कार्यरत स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षा जनशक्तिका रूपमा तयार गरेका हुन्। 

जिल्लाका ८५ वटै वडाका टोलटोलमा शुक्रबारदेखि एकसाथ मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने जिल्ला निर्वाचन कार्यालयका प्रमुख यज्ञ रिजालले जानकारी दिनुभयो। 

मतदाता शिक्षाका लागि छनोट भएका स्वयंसेविकाहरूलाई आवश्यक मतदाता शिक्षा सहजीकरण तालिम प्रदान गरेको र सिकाइ सामग्री वडासम्म पुगेको बताइएको छ। 

मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन आयोगको निर्देशिका अनुसार जिल्ला, पालिका र वडा स्तरीय समिति गठन गरिएको छ। निर्वाचन कार्यालय प्रमुख रिजालका अनुसार जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय समिति छ। 

यस्तै बागलुङका दसवटै स्थानीय तहले निर्वाचन सम्पर्क व्यक्ति तोकेका छन्। काठेखोला गाउँपालिकाले मनोज कार्की, बागलुङ नगरपालिकाले ससबहादुर पुन, निसीखोला गाउँपालिकाले पुरुषोत्तम गौतम, तमानखोला गाउँपालिकाले मुना विश्वकर्मा, ढोरपाटन नगरपालिकाले चण्डीराज पौडेललाई सम्पर्क व्यक्तिका रूपमा खटाएको छ। 

बडिगाड गाउँपालिकाले पूर्णबहादुर घर्ती, ताराखोला गाउँपालिकाले जितबहादुर सुनार, गलकोट नगरपालिकाले रुद्रनारायण सापकोटा, बरेङ गाउँपालिकाले सूर्यप्रसाद शर्मा र जैमिनी नगरपालिकाले पृथीबहादुर थापालाई निर्वाचन सम्पर्क व्यक्ति तोकेका छन्।