• २१ वैशाख २०८१, शुक्रबार

ब्याजदर घटाउन माग

blog

रङ्गेली समाचारदाता

विराटनगर, कात्तिक १८ गते । विराटनगरका उद्योगी व्यवसायीले उच्च ब्याजदरले औद्योगिक क्षेत्रमा सङ्कट आउने भन्दै नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीको ध्यानाकर्षण गराएका छन् । उद्योग सङ्गठन मोरङ, मोरङ व्यापार सङ्घ र नेपाल उद्योग परिसङ्घको प्रतिनिधिमण्डलले गभर्नर अधिकारीलाई एकल अङ्कको ब्याजदर वा बैङ्कको राष्ट्रियकरण गर्नुपर्ने सुझाव दिएको हो । 

मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालका अनुसार बुधबार गभर्नरसँग भेटेर विद्यमान बैङ्किङ नीति, चर्को बैङ्क ब्याजदर, शतप्रतिशत एलसी मार्जिनका कारण औद्योगिक क्षेत्र प्रभावित भएको जानकारी गराइएको थियो । 

बैङ्कले उद्योगी व्यवसायीले उच्च ब्याजदर असुल्ने काम गरिरहेको, बैङ्किङ शुल्क र खर्च वृद्धि भएको, शतप्रतिशत एलसी मार्जिनका लागि पुँजी अभाव हुने गरेको बताउँदै त्यसबाट आमउपभोक्तामा परेको प्रभावबारे जानकारी गराइएको अध्यक्ष रिजालले बताउनुभयो । “विद्यमान जटिल समस्यालाई नियन्त्रण गर्न कि त हालको उच्च बैङ्क ब्याजदरलाई तत्कालै एकल अङ्कमा कायम गर्नु वा बैङ्कलाई राष्ट्रियकरण गर्नुपर्ने सुझाव दिएका छौँ,” रिजालले भन्नुभयो । 

उद्योगीहरूको छलफलपछि गभर्नर अधिकारीले समस्या समाधानका लागि आवश्यक कदम चाल्ने आश्वासन दिनुभएको बताइएको छ ।