• १३ साउन २०८१, आइतबार

हरिबोधनी एकादशी

blog

यसपालि शुक्र अस्तसँगै सूर्य र चन्द्र दुई ग्रहण यसै कात्तिक महिनामा र हरिबोधिनी एकादशी आज (शुक्रबार) परेको छ। तुलसी विवाह र चार नारायणसँग जोडिएको यो पर्व हाम्रा लागि निकै पावन दिन मानिएको छ। गत आषाढशुक्ल हरिशयनी एकादशी तुलसी रोपणसँगै सुरु भएको चतुर्मास व्रत समापन पनि यसै हरिबोधिनी एकादशीमा गरिन्छ। 

यो क्रम वैकुण्ठ चतुर्दशीपर्यन्त रहने र कात्तिक महिनाभरि नै यसको महत्व रहन्छ। शयनीको अर्थ सुत्ने र बोधिनीको अर्थ जागा रहने हुन्छ। मानव जीवन पनि सुषुप्त र जागृत अवस्थाको हुन्छ, एकलाई ज्ञान र अर्कोलाई अज्ञानता भनिन्छ। बोधिनी भन्नाले ब्युँझने भनौँ जलाशयी भगवान् सुतल लोकमा सुतेर भाद्रशुक्ल एकादशी हरिपरिवर्तिनी भनौँ कोल्टो फेर्दै कात्तिकशुक्लमा उठेर धाम जाने अर्थमा असारदेखि कात्तिकको समय मानिसका लागि पुण्यदायी दिनका रूपमा लिइन्छ।

सुतल लोकमा बलिका ढोकामा असारमा शयन अर्थात् सुतेका श्रीविष्णु ब्युँझेर वैकुण्ठतिर लाग्ने दिन कात्तिकमा। यतिबेला चार महिनासम्म घरआँगनीमा पूजा गरी सजाइएको तुलसीको बिहे स्वयं श्रीविष्णुसँग गराइने हाम्रो धार्मिक मान्यता छ। देशको राजधानी उपत्यकामा रहेका भक्तपुरको चाँगु नारायण, ललितपुरको विशङ्खु नारायण, काठमाडौँको फर्पिङस्थित शेष नारायण अनि स्वयम्भू पछाडिका इचङ्गु नारायणको दर्शन गर्न जाने भक्तको भीड नै देखिन्छ, चारै महिनाभरि र विशेष गरी एकादशीमा। त्यस्तै शिर भाग मानिएको शिवपुरीको काखैमा रहेको बूढानीलकण्ठमा भक्तको पाइला राख्ने ठाउँ हुँदैन।

पूर्वीय धर्म दर्शनप्रति हुरुक्क हुने नेपालीको यस्ता विभिन्न पवित्र क्षेत्र विश्व सम्पदासूचीमा समेत परेका छन्। ठूलो पुण्य प्राप्त भई मानव मात्रले मानवीय सेवामा समर्पित हुन सिकाउने एकादशीको उदय र महत्वबारे शब्दले वर्णन गर्न भने कठिन छ। शयनीमा तुलसीको बिरुवा रोपेर घर आँगनी सजाइन्छ भने ठूलो स्थान नहुनेले तुलसीको मोठ बनाउन नसक्नेले गमलामै भए पनि रोपण गर्ने गर्छन् भने तुलसीको बीउ भनौँ दल रोपिने एकादशी निर्जला एकादशी भने जेठशुक्लमै पर्छ।

सृष्टिको उषाकालमा ब्रह्माजीको अंश, वंशमा तालजङ्ग असुरको उदय भयो। उसको पुत्र मुर दानवको उदयले संसारलाई भयभीत बनायो। देवताहरू राज्यच्युत भए। शिव आज्ञाले श्रीविष्णुले मुर दानवलाई बध गर्ने आदेश दिँदा श्रीविष्णु नै युद्धक्षेत्रमा पराजित भई भारतीय क्षेत्र बदरीकाश्रमको सिंहावती गुफामा सुत्नुपर्ने भयो। शयन गरिएका विष्णुका शरीरबाट सम्पूर्ण तेजसहितको एक कन्याको उदय भयो। ती कन्यासँग सम्पूर्ण शस्त्रअस्त्रदेखि युद्ध कलाको सम्पूर्ण ज्ञान थियो। ती कन्या त्यही मुर दानवसँग युद्ध गर्न लागिन्। नृशंस र संहारकारी मुर दानव पराजित भयो तिनै कन्याबाट! श्रीविष्णु पनि आपूm जागा भएर ती कन्यालाई वरदान माग भन्दा उनले आफ्नो नाम एकादशी रहनुपर्ने र तीर्थमा श्रेष्ठ, विघ्ननाशक, सिद्धिदाता, धन, धर्म, मोक्षको कारक भई मानवलाई चाहेअनुसारको सिद्धि दिन सकूँ भन्ने वरदान मागेकीले ‘हुन्छ’ भन्ने श्रीविष्णुको आदेशअनुसार सत्ययुगदेखि नै एकादशीको उदय र महìव बढ्दै आएको हो।

शुक्ल र कृष्ण गरी दुई भेद भए पनि उस्तै सिद्धि दिने एकादशी हरेक महिनाको दुईवटाका दरले वर्षभरिमा चौबीसवटा र पुरुषोत्तम माससमेत दुइटा गरी जम्मा २६ वटा हुन्छन्। त्यसमध्ये तुलसीरोपण एकादशीको नामले चिनिने एकादशी भने ज्येष्ठशुक्ल एकादशी ‘निर्जला’ एकादशी हो। तुलसीको मञ्जरीदल छर्ने एकादशी पनि भनिन्छ यस दिनलाई। सामान्यतया द्वादशीयुक्त एकादशीलाई एकादशी भनिन्छ। दिनको प्रातः समय एकादशी, मध्यदिनभरि द्वादशी र भोलिपल्ट सूर्योदयअघि त्रयोदशी तिथि स्पर्श भएको एकादशीलाई त्रिस्पृशा एकादशी भनिन्छ। यस्तो पर्व परेमा अन्य एक हजारवटा एकादशीको पुण्य एकैदिनको उपासनाबाट लिन सकिन्छ। 

एकादशीमा दिन या रात उपासना गर्नाले ब्रह्महत्या, गोहत्यासम्मको दोषबाट मुक्ति पाइने र सयौँ अश्वमेध यज्ञ गरेकोसमेत फल पाइने हुन्छ। शुक्लपक्षको पुनर्वसु नक्षत्रले युक्त भएको एकादशी जया हो, शुक्लपक्ष श्रवण नक्षत्रले युक्त विजया हो, द्वादशी रोहिणी नक्षत्र परे जयन्ती हुन्छ र पुष्य नक्षत्र परेमा पापनाशिनी हुन्छ। यस्तो नक्षत्रविशेषको एकादशी परेमा एक वर्षसम्म नित्य एक पाथी तिल दान गरेको वा एक हजार एकादशीको उपवास गरेको पुण्य प्राप्त हुन्छ। कलियुगमा मानिसको उमेर समय निकै थोरै भएकाले यस्ता विशेष दिन पहिल्याई पुण्य लुट्ने प्रयास गर्नु सर्वोत्तम हुन्छ। फलाहार, जलाहार वा निराहारबाट एकादशी उपासना गर्ने गरिन्छ। एकादशी सकेमा जलसमेत ग्रहण नगरेर गरिने उपासना हो। नखाएर मात्रै व्रत उपासना हुने भने होइन।

मुख्य कुरा वाणीको व्रत, श्रवणको व्रत, आचरण, तन, मन, धनको पवित्रता, इन्द्रीय, निग्रह, देवपूजा, हवन, जप, अनुष्ठान, दान, क्षमाशीलता सबै नै उपासनाका स्वरूप हुन्। एकादशीमा अन्न खासगरी चामलमा मानिसका दुष्कर्म (पाप)हरू बस्ने भएकाले अन्न नै ग्रहण गर्नु परे पनि चामलको भात र परिकार ग्रहण नगर्ने विधान छ। महिनामा एक दुई दिन अन्न त्यागले शरीरको पाचन क्षमता मेटाबोलिज्म सिस्टम राम्रो भई शरीर निरोगी हुन्छ र मुख्य जठराग्नि पनि बलियो हुन्छ। हिजोआज खाद्य 

सङ्कट झेलिरहेको संसारले यो बुझ्न जरुरी छ। आयुर्वेदले पाचन प्रणाली बिग्रँदा सबै किसिमका रोगको उदय हुने बताएको छ। हिजोआजको वातावरण र जङ्कफुड, फास्टफुड र पेय पदार्थले हाम्रो स्वास्थ्यलाई कता पु-याएको छ, सबैलाई थाहै छ।

व्रतको प्रभाव भने मनको दृढ सङ्कल्प नै हो, मनोबल वृद्धि हो, चित्तशुद्धि हो, धर्मपरायण र सात्विक भावको विकास हो। सत्य, धर्म, सदाचार, व्यक्ति, समूह, समुदायबाट समग्र राष्ट्र निर्माणमा सहयोग पुग्छ। मनोमालिन्य र द्वन्द्वपूर्ण व्यक्ति र समाज भए भने मुलुक भनौँ वा राष्ट्र अथवा पूरै ब्रह्माण्ड नै उजाड बन्ने कुरामा पनि दुईमत छैन। हिरोसिमा, नागासाकी, ट्विन टावर वा अन्य टाढा जानु पर्दैन, विगतको अफगानिस्तान र हालको रसिया–युक्रेनलाई हेर्दा हुन्छ। देवत्वभावले दानपारमिताले सबैको संरक्षण हुन्छ। वैदिक चिन्तनको स्रोत भूमि नेपालमा रहेको धर्म, संस्कृतिको आज अन्य मुलुकले पनि अनुसन्धान, अध्ययन गर्दैछन्। भावना शुद्ध गरी कार्य गरेमा र त्यस्तै योजना, उद्देश्य, रणनीति, कार्यक्रमसँग सहभागी हुन सकेमा समग्र मुलुकको आर्थिक विकास छिटो र समानुपातिक पनि हुन सक्छ। हामी सबैले चाहेको शान्ति र अमनचयन त स्वतः हुन्छ नै। 

देशमा शान्ति र अमनचयन छ, सबै निर्धक्क छन् भने राज्यले हातहतियार वा आपराधिक क्रियाकलापविरुद्ध ठूलो रकम खर्च गर्नु पर्दैन, त्यसमा गरिने खर्च सजिलै विकास निर्माणतिर लगाउन सकिन्छ। देशमा राम राज्य भइहाल्छ, करको नाममा जनताको ढाड सेक्नु पनि पर्दैन। सुरक्षाकै लागि ठूलाठूला बुलेटप्रुफ गाडी, यानको आवश्यकता पर्दैन। हाम्रै गरिब र अल्पविकसितमा जेठो गनिने देशमा मोदीदेखि सी चिनफिङसम्मको भ्रमणमा भएको सुरक्षा सावधानीबारे सबैलाई जगजाहेरै छ। हाम्रै धरोहर चाड पर्व दशैँ–तिहारमा सुरक्षा चुनौती देखिएकै हो। हाम्रै जनकपुरमा त्रेतायुगमा सुन जुहारतमा साँचो–ताल्चा लाउन नपर्र्ने, आौषधिका नाममा सामान्य सिटामोलसम्म प्रयोग गर्नु नपरेको रामायणमा लेखिएको छ।

काम्य र नित्य गरी व्रतको दुई स्वरूप छन्। उद्देश्य एवं कामनापरक काम्य उपासना हुन्छ। कुनै इच्छा नराखी गरिने व्रत उपासना नित्य उपासना हो र एकादशी अनुष्ठान नित्यकर्ममा पर्छ। नित्य र निस्काम व्रतको प्रभावले झन् बढी उद्देश्य सफल बन्ने हुन्छ – कारण मानिसलाई आवश्यक भुक्ति र मुक्ति दुवै प्राप्त हुन आवश्यक छ, जुन एकादशी अनुष्ठानबाट मात्र सम्भव छ। एकादशी व्रती निरोगी हुन्छ, सुखी र समृद्धशाली हुन्छ। जुवा, कुभाषण, मिथ्या, परनिन्दाबाट टाढा हुन्छ। चोरी, हिंसा, क्रोधबाट टाढा हुन्छ भने आवेग र तनावरहित जीवन सञ्चालन हुने हुँदा व्यक्ति, समाज र पूरै राष्ट्र शान्त र समृद्ध हुन्छ। एकादशीको दिन बिहानै तुलसीको र श्रीविष्णुको विशेष पूजा गरिन्छ। तुलसीको महत्व जीवनको उदयदेखि अन्त्यसम्म हुन्छ। कुश, तुलसी, पीपलको महìव पूर्वीय संस्कृतिमा विश्वास गर्नेका लागि जीवनको हृदयझैँ रहेको वैदिक साहित्यमा सर्वत्र चर्चा भएको पाइन्छ।