• १६ भदौ २०८१, आइतबार

तनहुँमा डेंगुका बिरामी बढे

blog

दमौली अस्पतालमा उपचारको लागि पुगेका बिरामीको भीड। तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की 

तनहुँ, कात्तिक १७  गते। तनहुँमा डेंगुको सङ्क्रमण बढेको छ । सदमुकाम दमौलीसहितका अस्पतालमा डेंगुका बिरामीको चाप बढेको हो। 

सङ्क्रमण बढेसँगै दमौली अस्पतालमा बिरामीको भीड लागेको छ। कात्तिकमा मात्रै ८८ जनामा सङ्क्रमण देखिएको दमौली अस्पतालका प्रमुख डा. दिवस ढकालले जानकारी दिनुभयो। 

दुई सय १५ जनाको परीक्षण गर्दा सो सङ्ख्यामा पोजिटिभ देखिएको उहाँले जानकारी दिनुभयो। विशेष गरेर असोजदेखि तनहुँमा डेंगुको सङ्क्रण फैलिएको र असोजमा मात्रै एक सय एक जनामा सङ्क्रमण भएको डा. ढकालले बताउनुभयो। 

अस्तपालका अनुसार उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी बेस्सरी दुख्ने, आँखाको गेडी र टाउको दुख्ने लक्षण देखिएका बिरामी आउन थालेपछि शङ्का लागेर रगत परीक्षण गर्दा डेंगु पहिचान भएको हो।

डेंगुको सङ्क्रमण बढ्दै गएपछि नियन्त्रणको प्रयास भइरहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो  । डेंगुसँग मिल्दा लक्षण देखिने बित्तिकै चेकजाँच गराउन आग्रह गरिएको छ। सङक्रमितको सङख्या धेरै देखिएकोले अवस्था जोखिमपूर्ण बनेको हो।