• १६ भदौ २०८१, आइतबार

भक्तपुर –२ मा एमालेको घरदैलो अभियान

blog

गोरखापत्र अनलाइन

भक्तपुर, कात्तिक १७ गते । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि नेकपा (एमाले) ले भक्तपुर क्षेत्र नं. २ को घरदैलो कार्यक्रम आजदेखि सुरु गरेको जनाएको छ ।  

क्षेत्र नं. २ अन्तर्गत जिल्लाको मध्यपुर थिमी नगरपालिका र सूर्यविनायक नगरपालिका गरी दुई वटा नगरपालिका पर्छ । एमाले क्षेत्र नं. २ प्रचार प्रसार समितिले आजदेखि दुई वटै नगरपालिकामा घरदैलो कार्यक्रम सुरु गरेको जनाएको हो । आज बिहान मध्यपुर थिमी नगरपालिकाको वडा १ बाट एमालेका उम्मेदवारले घरदैलो कार्यक्रम सुरु गरेका हुन् । 

क्षेत्र नं. २ का लागि एमालेको तर्फबाट पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेत तथा प्रदेश ‘क’ सूर्यविनायकमा किरण थापा र ‘ख’ मध्यपुरमा चन्दनकृष्ण श्रेष्ठको उम्मेदवारी रहेको छ । उहाँहरूको संयुक्त उपस्थितिमा घरदैलो कार्यक्रम सुरु गरिएको नेता बस्नेतले बताउनुभयो ।  

झाँकीसहित निस्किएको घरदैलो कार्यक्रममा मतदाताको घरमा गएर मत माग्ने काम भएको नेताहरूले बताउनुभयो । सो अवसरमा नेता बस्नेतले जनचाहना अनुसार विकासको काम गर्ने प्रतिबद्धता जनाउनुभयो । एमाले बागमती प्रदेश सदस्य मदनसुन्दर श्रेष्ठ, जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष वासुदेव थापा, प्रदेश समानुपातिक उम्मेदवार शकुन्तला श्रेष्ठलगायतले सामूहिक रूपमा मत माग्नुभयो ।