• २५ वैशाख २०८१, मङ्गलबार

भिडियो कुराकानी

दरबन्दी थप नहुँदा बिरामीको पहुँचमा छैनन् चिकित्सक

blog

काठमाडौं, कार्तिक २५ गते । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को मापदण्ड अनुसार एक हजार बिरामीका लागि एक जना चिकित्सक आवश्यक पर्छ । तर नेपालमा २०४९ सालदेखि सरकारी चिकित्सकको दरबन्दी थप नहुँदा अहिले प्रत्येक दुई हजार बिरामीका लागि एक जना मात्र चिकित्सक उपलब्ध छन् । 

नेपाल चिकित्सक सङ्घका महासचिव डा.बद्री रिजालका अनुसार नेपालमा मेडिकल सिटमा पर्याप्त दरबन्दी नहुँदा सरकारी क्षेत्रमा चिकित्सकको सङ्ख्या कम भएको हो । लामो समयदेखि दरबन्दी बढाउन नसक्दा बिरामीको पहुँचमा चिकित्सक पुग्न नसकेका हुन् । 

नेपालमा हरेक वर्ष दुई हजार चिकित्सक उत्पादन हुने भए पनि दरबन्दी नहुँदा सरकारी सेवामा प्रवेश गर्न नपाएको उहाँको भनाइ छ । नेपालमा दरबन्दी नखुल्दा अवसरको खोजीमा अधिकांश चिकित्सक देश छाडेर जान बाध्य छन् । मेडिकलमा उत्तीर्ण भएका कुल विद्यार्थीमध्ये ७० देखि ८० प्रतिशत विद्यार्थी अवसरका लागि विदेश जाने गरेका छन् । 

नेपालका क्षेत्रीयस्तरका अस्पताल राम्ररी सञ्चालन हुन सकेका छैनन् । उपकरण र प्रशिक्षण अभाव भएको भन्दै चिकित्सक त्यस्ता अस्पतालमा जान चाहँदैनन् । दुर्गम ठाउँमा काम गर्ने चिकित्सकको प्रमुख चिन्ता सुरक्षाको अभाव रहेको उहाँको भनाइ छ । सरकारले दुर्गम ठाउँमा  काम गर्न चिकित्सकलाई थप सेवा  सुविधा दिनुपर्ने रिजालको भनाइ छ । सरकारले समयमा दरबन्दी खुला नगर्दा चिकित्सक करारमा काम गर्न बाध्य छन् । नेपालमा अझैसम्म किन चिकित्सक बिरामीको पहुँचमा छैनन् ? सरकारले कस्तो नीति अवलम्बन गरे गाउँगाउँमा चिकित्सक पुग्छन् ? यी र यस्तै विषयमा नेपाल चिकित्सक सङ्घका महासचिव डा.बद्री रिजालसँग गोरखापत्र अनलाइनका लागि महिमा देवकोटा, मनोजरत्न शाही र केशब गुरुङले गर्नुभएको भिडियो कुराकानी :

लेखक बाट थप