रमेश विश्वकर्मा
गुल्मी, कात्तिक १७ गते। मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि स्वतन्त्र र राजनीतिक दलका उम्मेदवार गाउँ–गाउँमा चुनावी प्रचारप्रसारमा व्यस्त छन्। चुनावी प्रचारप्रसारमा हिँडेका उम्मेदवारले मतदाताको घरदैलोमा पुगेर मतदाताका कुरा सुन्दै, आफ्ना कुरा मतदातालाई सुनाउने क्रम जारी छ।
दुई सङ्घीय निर्वाचन क्षेत्र र चार प्रदेश सभा निर्वाचन क्षेत्र रहेको गुल्मीमा दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवार मतदाताको घरदैलोमा पुगेका हुन्। चुनावी प्रचारप्रसारसँगै राजनीतिक दलले मतदान गर्ने तरिका र चुनाव चिह्नको विषयमा जानकारी गराउँदै आएका छन्।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का गठबन्धनका साझा उम्मेदवारको रुपमा रहनुभएका नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारी केही दिनयता मतदातासँगै हुनुहुन्छ। उहाँ मतदाताका समस्या समाधान गर्ने गरी आफ्ना कुरा राख्दै आउनुभएको छ।
भण्डारीसँग क्षेत्र नम्बर १ मा नेकपा (एमाले)का केन्द्रीय उपमहासचिव प्रदीपकुमार ज्ञवाली प्रतिस्पर्धामा हुनुहुन्छ। ज्ञवालीले पनि मतदाता भेटघाटलाई निकै तीव्रता दिनुभएको छ। यता प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सचिव रामकुमारी झाँक्री र नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण विष्ट प्रतिस्पर्धामा हुनुहुन्छ।
चार प्रदेशसभा निर्वाचन क्षेत्रका उम्मेदवारले मतदातालाई भेट्दै मतदाताको कुरा सुनेर आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्न व्यस्त हुनुहुन्छ। प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (क) मा गठबन्धन दलको साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल र नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य चिन्तामणि पाण्डे प्रतिस्पर्धामा हुनुहुन्छ। प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (ख) मा गठबन्धन दलका साझा उम्मेदवार नेपाली कांग्रेसका महासमिति सदस्य धनेन्द्र कार्की र नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य फर्सुराम पाण्डे प्रतिस्पर्धामा हुनहुन्छ।
प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ (क) मा गठबन्धन दलको साझा उम्मेदवार नेपाली कांग्रेसका लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ र नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य डिल्लीराज भुसाल प्रतिस्पर्धामा हुनुहुन्छ।
देशसभा निर्वाचन क्षेत्र नम्बर २ (ख) मा गठबन्धन दलको साझा उम्मेदवार माओवादी केन्द्रका गुल्मी जिल्ला संयोजक बुद्धि जिसी र एमालेका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज दिनेश पन्थी प्रतिस्पर्धामा हुनहुन्छ।