एथेन्स, कात्तिक १७ गते । ग्रीसको इभामा अवस्थित समुद्री किनारबाट त्यहाँ डुङ्गा डुब्दा हराएका २० जना यात्रीको शव निकालिएको बताइएको छ । उद्धारकर्मीहरुले ती शव निकालेको अधिकारीहरुले जानकारी दिएका छन् । उद्धारकर्मीहरुका अनुसार सो क्षेत्रमा मङ्गलबार डुङ्गा डुब्दा ती यात्रु हराएका थिए ।
मङ्गलबारदेखि उद्धारकर्मीहरुले खोजी जारी राखेका र बुधबार उनीहरुको शव भेटिएको बताएका छन् । ग्रीसको राष्ट्रिय समाचार समितिले डुङ्गा डुबेपछि मङ्गलबार नै उद्धारकर्मीहरु त्यहाँ पुगेका तर आँधीका कारण उद्धारको काममा कठिनाइ भएको बताएको छ । सोही दिन १२ जनालाई जीवितै उद्धार गरिएको पनि सो समाचार समितिले जनाएको छ ।
त्यसमा परेका अरु २० जनाको शव बुधबार निकालिएको पनि सो समाचार उद्धारकर्मीलाई उद्धृत गर्दै सो समाचार समितिले जनाएको छ । जीवितै उद्धार गरिएकाहरुले सो डुङ्गामा ६८ जना यात्रु रहेका जनाएका छन् । त्यस डुङ्गामा इजिप्ट, अफगानिस्तान र इरानका आप्रवासीहरु रहेका बताइएको छ । रासस/सिन्ह्वा