• ९ मंसिर २०८१, आइतबार

छाला निकासी प्रभावित

blog

रङ्गेली समाचारदाता

विराटनगर, कात्तिक १७ गते । कोभिड–१९ सङ्क्रमण र रुस–युक्रेन युद्धका कारण छाला निकासी घटेको छ । कोभिड–१९ सङ्क्रमणको अवस्थामा अन्तर्राष्ट्रिय बजारमा छालाको माग घट्दै जाँदा त्यसको प्रभाव नेपालमा पनि परेको थियो । तीन वर्षपछि पुनः युरोपलगायतका देशमा निकासी हुन थालेको छाला कारोबारलाई रुस–युक्रेन युद्धले प्रभावित बनाएको उद्योगीको भनाइ छ । 

परिवत्र्य विदेशी मुद्राको स्रोत मानिने छाला विराटनगर भन्सारबाट आर्थिक वर्ष २०७८/७९ मा केही बढेको थियो । त्यतिबेला राँगा, भैँसी, बोका, बाख्रा, भेडालगायतको २० करोड ४१ लख ८० हजार १३६ रुपियाँ बराबरको १७ लाख ५७ हजार ५७६ केजी छाला निकासी भएको थियो । भन्सारको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ मा १० करोड ५९ लाख चार हजार १९१ रुपियाँ बराबरको आठ लाख २१ हजार ६२९ वर्गफिट मात्रै निकासी भएको थियो ।  

कोरोनाकालपछि बिस्तारै माग बढ्दै गइरहेको बेला रुस–युक्रेन युद्ध सुरु हुँदा त्यसको प्रभाव नेपाली उद्योगमा परेको हो । युनाइटेड टेनेरिज उद्योगका सञ्चालक परवेज अख्तरले युक्रेन र रुसको युद्धसँगै इटालीबाट छालाको माग नभएकाले निकासी प्रभावित बन्दै आएको बताउनुहुन्छ । सरकारले निकासीको सूचीमा राखेर ५ प्रतिशत अनुदानसमेत दिँदै आएका छाला उद्योगमा अहिले धेरै समस्या रहेको उहाँको भनाइ छ । 

विराटनगर भन्सारबाट एसियन लेदर, नेपाल ट्यानिङ र युनाइटेड लेदर उद्योगले भारत र समुद्रपार निकासी गर्दै आएका छन् । त्यसबाहेक वीरगञ्जमा अन्य सात उद्योग छन् । 

आर्थिक वर्ष २०७६/७७ मा २३ लाख ४९ हजार ६४० वर्गफिट छाला निकासी भएको थियो । आर्थिक वर्ष २०७५/७६ मा ५८ लाख ८३  हजार वर्गफिट, २०७४/७५ मा ७९ लाख वर्गफिट छाला निकासी भएको तथ्याङ्क छ । यस्तै आर्थिक वर्ष २०७३/७४ मा ७२ लाख ३२ हजार ५०३ वर्गफिट छाला निकासी भएको थियो । 

नेपालबाट भारत, चीन, इटाली, मेक्सिको, फ्रान्स, टर्की, ल्याटिन अमेरिकालगायतका देशमा प्रशोधित छाला निकासी हुँदै आएको थियो । त्यस बेला ७३ रुपियाँ २० पैसा प्रतिवर्ग फिट मूल्य निर्यातकर्ताले पाउने गरेको युनाइटेड लेदरका कार्यकारी निर्देशक सद्दाव अख्तरको दाबी छ । तर, त्यस समययता बिस्तारै माग घट्दै जाँदा नेपालका उद्योग समस्यामा पर्दै गइरहेका छन् । 

एसियन लेदरका सञ्चालक हसन अन्सारीले भारतमा भन्दा नेपालमा राँगाको प्रशोधित छाला केही सस्तो भएपछि अहिले माग बढ्दै गएको जानकारी दिनुभयो । यसको केही फाइदा वीरगञ्जका उद्योगीले लिइरहेको उहाँले बताउनुभयो । वीरगञ्ज नाकाबाट आर्थिक वर्ष २०७८/७९ मा भारत तथा तेस्रो मुलुकमा तीन लाख ८३ हजार २५९ वर्गफिट प्रशोधित भैँसीको छाला निकासी भएको तथ्याङ्क छ ।