• १३ साउन २०८१, आइतबार

औद्योगिक ग्राम निर्माण अलपत्र

blog

बैतडी समाचारदाता 

बैतडी, कात्तिक १६ गते । बैतडीको मेलौलीमा औद्योगिक ग्राम निर्माणको काम चार वर्षदेखि अलपत्र परेको छ । बैतडीको मेलौली नगरपालिका १, ३, ५ र ६ नम्बर वडा जोडेर कफलानीमा औद्योगिक ग्राम स्थापनाका लागि सरकारले स्थान छनोट गरे पनि निर्माणको काम नहुँदा औद्योगिक ग्राम अलपत्र परेको हो । औद्योगिक ग्राम निर्माण हुने स्थानमा फलाम खानी, चुनढुङ्गा र तामाको खानी रहेको छ ।   

निर्वाचनका बेलामा मात्रै औद्योगिक ग्रामको मुद्दा उठ्ने गरेको मेलौली नगरपालिकाका स्थानीय चिन्तामणि भट्टले बताउनुभयो । “चुनावका बेला मात्रै औद्योगिक ग्रामको कुरा उठ्छ” उहाँले भन्नुभयो, “निर्वाचन जितेपछि नेताले चुनावी वाचा बिर्सने गरेका छन् ।” 

फलामबाहेक यहाँ नेपाली कागज बनाउने लोक्ता, बाँस–निङ्गालो, केतकी, भिमल, सल्लाको खोटो, जडीबुटीतर्फ रिट्ठा, अमलालगायतको बहुमूल्य खानीसमेत रहेको अनुसन्धानले देखाएको छ । औद्योगिक ग्राम स्थापनाका लागि छनोट भएको मेलौली नगरपालिका–५ को खलिगाडमा फलाम खानी र चुनढुङ्गाखानी रहेको सोही गाउँका तत्कालीन संविधान सभा सदस्य पुरनसिंह दयालले बताउनुभयो । सरकारले औद्योगिक ग्राम निर्माणका लागि बजेटसहितको कार्यविधि पठाए पनि नगरपालिकाले तदारुकता देखाउन नसक्दा निर्माण कार्य ढिलो भएको उहाँको भनाइ छ । 

औद्योगिक ग्राम स्थापना भए स्थानीय खानी उत्खनन, जडीबुटी प्रशोधन केन्द्र, फलाम, तामा र चुनढुङ्गा प्रसोधनजस्ता उद्योग सञ्चालनमा आउन सक्छन् । धार्मिक र पर्यटकीय हिसाबले बैतडी जिल्लाकै प्रसिद्ध ठाउँ मानिएको मेलौलीमा औद्योगिक ग्राम स्थापना भए धेरै युजाले स्वदेशमै रोजगारी पाउने अवस्था बन्न सक्छ ।