• १६ भदौ २०८१, आइतबार

फूल बेचेर मनग्गे आम्दानी

blog

वालिङ समाचारदाता 

वालिङ, कात्तिक १६ गते । कालीगण्डकी गाउँपालिकामा तिहारको समयमा सयपत्री फूल बिक्री गरेर मनग्गे आम्दानी भएको छ। गाउँपालिकाले तिहारका लागि व्यावसायिक फूल खेती गराएको थियो। 

गाउँपालिकाले पनि फूल खेती गर्न कृषकलाई अनुदान प्रदान गर्दै आएको छ। जिल्लामै पहिलो पटक गाउँपालिकाले ठूलो मात्रामा फूल खेतीको शुभारम्भ गरेको हो। सयपत्री फुलेर ढकमक्क भएपछि गाउँ नै सुन्दर देखिएको छ। विभिन्न ठाउँबाट फूल लिन आउनेहरूको तिहारमा भीड नै लागेको स्थानीय कृषक बताउँछन्। 

बर्सेनि हजारौँ रुपियाँको माला खरिद गर्ने गाउँलेले गत वर्षदेखि भने आफैँले फुलाएको फूल उपयोग गर्नुको साथै विभिन्न ठाउँमा बिक्रीका लागि समेत पठाएका छन्। गाउँपालिकाले फूलमा आत्मनिर्भरसहित आयआर्जन गर्न सिकाउने उद्देश्यले सयपत्री रोपण अभियान नै चलाएको गाउँपालिकाका अध्यक्ष खीमबहादुर थापाले जानकारी दिनुभयो। पालिकाका १५ ठाउँका झन्डै ६० रोपनी क्षेत्रमा व्यावसायिक फूल खेती गरिएको अध्यक्ष थापाले बताउनुभयो। ११ जनाले व्यक्तिगत रूपमा, एउटा होमस्टे र तीनवटा महिला समूहले व्यावसायिक रूपमा फूल खेती गर्दै आएका छन्। 

कालीगण्डकी गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलका अनुसार, तिहारको समयमा फूल बिक्रीबाट मात्रै पालिकामा करिब आठ लाख रकम भित्रिएको छ।  सो पालिकामा उत्पादित फूल र माला बुटवल, काठमाडौँ, पोखरा र स्थानीय बजारमा बिक्री गरिएको गाउँपालिकाका उपाध्यक्ष सावित्रा कोइरालाले बताउनुभयो।