• १६ भदौ २०८१, आइतबार

भूमिगत पार्किङमा महानगरको डोजर

blog

कास्की समाचारदाता

कास्की, कात्तिक १६ गते  । पोखरा महानगरपालिकाले भूमिगत पार्किङस्थल खाली गराउन थालेको छ। कर छुटको सुविधा लिएर भवन निर्माण गरिएका व्यापारिक भवनहरूको ‘अन्डरग्राउन्ड’ खाली गराउन थालिएको हो। घरधनी तथा व्यापारीहरूले ‘अन्डरग्राउन्ड’ पार्किङहरूलाई व्यापारिक प्रयोजनमा प्रयोग गरेको पाइएपछि ३५ दिने सूचना नै जारी गरी खाली गराउन थालेको पोखरा महानगरपालिकाले जनाएको छ। सूचना जारी गर्नुअघि पनि पटक–पटक हटाउन अनुरोध गरिएको थियो। 

अधिकांशले महानगरपालिकाको अनुरोध बमोजिम पार्किङ खाली गरेको भए पनि केहीले अटेर गरेकाले मङ्गलबारबाट डोजर नै चलाएर खाली गराउनु परेको महानगरपालिकाले जनाएको छ।  पोखरा चिप्लेढुङ्गास्थित आरके बिल्डिङ, विशाल बजार, महेन्द्रपुलस्थित गरिमा विकास बैङ्क रहेको भवनमा डोजर चलाएको हो। सेलवेज टावरको बेसमेन्टमा सञ्चालनमा रहेको बिगबजार भने स्थानान्तरणको क्रममा रहेकाले ७२ घण्टाको ‘अल्टिमेटम’ दिइएको छ। 

बिगबजारका सञ्चालकलाई पार्किङ खाली गर्नका लागि ७२ घण्टाको अल्टिमेटम दिइएको छ। महानगरपालिका प्रमुख धनराज आचार्यले रातदिन काम गरेर भए पनि पार्किङ खाली गर्न सञ्चालकलाई आग्रह गर्नुभयो। महेन्द्रपुलस्थित सञ्चालनमा रहेको गरिमा विकास बैङ्कको शाखालाई समेत तत्काल स्थानान्तरण गरी भूमिगत पार्किङ खाली गर्न महानगरपालिकाका प्रमुख आचार्यले निर्देशन दिनुभएको छ। साङ्केतिक रूपमा बैङ्कको अगाडिको फलामको रेलिङबार डोजर लगाएर भत्काइएको छ। 

महेन्द्रपुल चोकमा रहेको हुलाक निर्देशनालयको कम्पाउन्डसमेत एक साताभित्र नहटाए महानगरपालिका आफैँले हटाउने जनाएको छ। पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले मापदण्डविपरीतको कम्पाउन्ड हटाउनका लागि एक साता पर्खिने बताउनुभयो। 

महेन्द्रपुलस्थित सीता भवन र मोबाइल टावरको बेसमेन्ट भने खाली भइसकेको छ। नयाँ बजार क्षेत्रमा रहेका भूमिगत पार्किङमा अहिले पनि प्रेसदेखि गाडीका सोरुम तथा पार्टपुर्जाहरू बिक्री र मर्मतसम्म सञ्चालनमा रहेका छन्।

महेन्द्रपुलदेखि सिद्धार्थचोकसम्म रहेका भूमिगत पार्किङहरूलाई दुई पाङ्ग्रे र न्यूरोड क्षेत्रमा रहेका पार्किङमा कार पार्किङका रूपमा प्रयोग गर्ने योजना बनाइएको महानगरप्रमुख आचार्यले बताउनुभयो। पोखरा महानगरपालिका क्षेत्रभित्र २५० को हाराहारीमा अन्डरग्राउन्ड पार्किङसहितका भवनहरू निर्माण गरिएका छन्।