• ८ मंसिर २०८१, शनिबार

च्याम्पियन्स लिग : बायर्नको शतप्रतिशत जित

blog

इन्टरविरुद्ध गोल गर्दै बार्यनका बेन्जामिन पभार्ड । तस्बिर : एएफपी

काठमाडौं, कात्तिक १६ गते । जर्मन महारथि बायर्न म्युनिखले च्याम्पियन्स लिगमा समूह चरणको सबै खेलमा शतप्रतिशत जित निकालेको छ । बायर्नले मंगलबार राति भएको समूह चरणको अन्तिम खेलमा इन्टर मिलानलाई २–० गोलले हरायो ।

समूह ‘सी’ बाट यसअघिनै नकआउट चरणमा पुगिसकेको बायर्नको जितमा बेन्जामिन पभार्डले ३२औं र इरिक म्याक्सिम चोउपु मोटिङले ७२औं मिनेटमा गोल गर्नुभयो । जितसँगै शीर्षस्थानमा रहेको बायर्नले समूहमा ६ खेलबाट १८ अंक बनायो । दोस्रो स्थानमा रहेको इन्टर मिलान पनि १० अंक जोड्दै नकआउ चरणमा पुग्यो ।

सात अंक बनाएको बार्सिलोना तेस्रो हुँदै  च्याम्पियन्स लिगबाट बाहिरियो । बार्सिलोना युरोपा लिगमा भने छनोट भएको छ । मंगलबार रातिनै भएको खेलमा बार्सिलोनाले भिक्टोरिया प्लिजेनलाई ४–२ गोलले हराउँदै च्याम्पियन्स लिगमा सुखद अन्त्य गरेको हो । अंकको खाता खोल्न नसकेको भिक्टोरिया प्लिजेन अन्तिममा रह्यो । 

यसैगरी समूह ‘ए’ को खेलमा लिभरपुलले नापोलीलाई २–० गोलले हराएको छ । लिभरपुलले नापोलीको अपराजित यात्रामा अन्तिममा आएर पूर्णविराम लगाएको हो । हारेपनि नापोली शीर्षस्थानमा रहँदै अघिल्ले चरणमा पुगेको छ ।

लिभरपुले समूह उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको छ । यस समूहमा ६ अंक बनाएको आयाक्स तेस्रो भयो । मंगलबार राति आयाक्सले रेन्जर्सलाई ३–१ गोलले हराएको थियो । अंकविहिन रेन्जर्स अन्तिममा रह्यो । 

टोट्टनहामाले समूह ‘डी’ को विजेता बन्दै नकआउट चरणमा स्थान बनाएको छ । मंगलबार राति भएको समूहको अन्तिम खेलमा टोट्टनहामले मार्सेलीलाई २–१ गोलले हरायो । यही समूहको अर्को खेलमा फ्रान्कफर्टले स्पोर्टीङ सिपिलाई २–१ गोलले हराउँदै नकआउ चरणमा प्रवेश गरेको छ ।

शीर्षस्थानमा रहेको टोट्टनहामले ६ खेलबाट ११ अंक बनायो । उपविजेता फ्रान्कफर्टले १० अंक जोड्यो । सात अंक बनाएको स्पोर्टीङ तेस्रो र ६ अंक बनाएको मार्सेली अन्तिममा रह्यो । यसैगरी समूह ‘बी’ बाट एट्लेटिको म्याड्रिड बाहिरिएको छ । एट्लेटिको पहिलो पटक च्याम्पियन्स लिगबाट बाहिरिएको हो ।

मंगलबार राति भएको समूह चरणको अन्तिम खेलमा एट्लेटिको एफसी पोर्टोसँग २–१ गोलले पराजित भयो । जितसँगै शीर्षस्थानमा रहेको पोर्टोले १२ अंक र दोस्रो स्थानमा रहेको क्लब बर्गले ११ अंक जोड्दै अन्तिम १६ मा स्थान बनाएको छ ।

तेस्रो स्थानमा रहेको बायर लिभरकुशेन र अन्तिममा रहेको एट्लेटिकोले समान पाँच पाँच अंक बनाए । मंगलबार भएको खेलमा लिभरकुशेन र क्लब बर्ग गोलरहित बराबरीमा रोकिए । एजेन्सी