• १३ साउन २०८१, आइतबार

भूकम्पीय जोखिमबाट जोगिन कृत्रिम घटना अभ्यास

blog

अविनाश चौधरी

धनगढी, कात्तिक १५ गते। सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी योजना अन्तर्गत मङ्गलबार धनगढीमा कृत्रिम घटना अभ्यास कार्यक्रम सम्पन्न भएको छ। 

सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सहरी विपद् पूर्व तयारी परियोजनाको संयुक्त आयोजनामा कार्यक्रम भएको हो। भूकम्पीय जोखिम र त्यसबाट हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो। 

कार्यक्रममा प्रमुख अतिथि रहनु भएका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव मदनसिंह धामीले विपद् जोखिम न्यूनीकरणका सन्दर्भमा ऐन, नियममा सुधार भएको बताउनुभयो। वित्तीय व्यवस्थापनको सवालमा भने अझै पनि केही सुधार गर्न आवश्यक रहेको उहाँको भनाइ थियो। 

यसैगरी, सिकाइलाई समय अनुसार सुधार गर्नु पर्ने धामीले जोड दिनुभयो। समय अनुसार सुधार नगरिए त्यसले हाम्रो समाजमा नकारात्मक असर पार्ने भएकाले कृत्रिम घटना अभ्यास अत्यन्त व्यवहारिक रहेको उहाँले उल्लेख गर्नुभयो। 

कार्यक्रममा अध्यक्षता ग्रहण गर्नु भएका सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव विष्णुदत्त अवस्थीले यो कार्यक्रमले अन्तर समन्वयमा सहयोग पुर्‍याउने बताउनुभयो। सुदूरपश्चिम भूकम्पको उच्च जोखिममा रहेको उल्लेख गर्नुहुँदै उहाँले ‘ग्लोबल वार्मिङ्ग’ का कारण यो प्रदेशले बाढी पहिरोजस्ता प्राकृतिक प्रकोपको पनि सामना गरिरहेको बताउनुभयो। 

‘त्यसकारण प्रकोप आइसकेपछि द्रुत गतिमा उद्धार, राहतको काम होस्, समन्वय होस् भनेर यो कार्यक्रम गरिएको हो’, अवस्थीले भन्नुभयो,‘यसले भूकम्पीय जोखिमका साथै अन्य विपद्बाट हुने क्षति न्यूनीकरणका लागि पनि सहयोग पुर्‍याउने र अन्तर निकाय समन्वय बढाउने मैले विश्वास गरेको छु।’ प्रदेशको हकमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विपद् व्यवस्थापनका लागि काम गर्दै आएको अवस्थीले बताउनुभयो। 

कार्यक्रमको उद्घाटन अवसरमा गृहमन्त्रालयका पूर्व सचिव शङ्कर कोइराला, कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका डा. डिजन भट्टराई, संयुक्त राष्ट्र सङ्घीय प्रदेश समन्वय सम्पर्क निकाय प्रमुख बेजन्ती गिरी सिंह लगायतको उपस्थिति थियो। 

कार्यक्रममा भूकम्प आइसकेपछि विभिन्न सरोकारवाला निकायले गर्नुपर्ने कार्यकाबारेमा कृत्रिम अभ्यास गरिएको थियो। यसैगरी, प्रादेशिक विपद् प्रतिकार्य कार्यढाँचा पनि प्रस्तुत गरिएको थियो।