धनगढी समाचारदाता
धनगढी, साउन २३ गते । केही दिनयता भइरहेको अविरल वर्षाका कारण कैलालीको ग्रामीण क्षेत्रका कतिपय सडक हिलाम्मे भएका छन् । सडक हिलाम्मे र खाल्टाखुल्टीका कारण आवतजावत गर्नेलाई सास्ती भएको छ । विकासमा फड्को मारेको धनगढी उपमहानगरपालिकामै पनि सडक हिलाम्मे भएको छ । धनगढी गाउँ–घुइयाघाट–जुगेडा जाने बाटो हिलाम्मे भएपछि सो बाटोमा आवतजावत गर्दै आएका स्थानीयले समस्या भोगिरहेका छन् । धनगढीका अरू सबै क्षेत्रको बाटो बनिसक्दा धनगढी गाउँ–घुइयाघाट–जुगेडा जोड्ने बाटो अहिलेसम्म नबनाइएपछि बर्खामा समस्या भइरहेको धनगढी उपमहानगरपालिका–८, धनगढीगाउँका तुला बखरियाले बताउनुभयो ।
धनगढी गाउँ–घुइयाघाट–जुगेडा बाटोको धनगढीगाउँ चौराहादेखि पाँच सय मिटरमा प्रदेश सरकारको लगानीमा यसै वर्ष कालोपत्रे गरिएको छ । बाँकी क्षेत्रमा भने जताततै ग्राभेल र खाल्टाखुल्टी भएको सडक रहेको छ । बिग्रेको दशक पुगिसक्दा पनि अहिलेसम्म सडक नबनेको स्थानीयले जनाएका छन् । यसै गरी कैलारी गाउँपालिका–६, खरुवाखेरादेखि खरेट्टी राजीपुर जोड्ने बाटो रोपाइँ गर्न तयार पारिएको खेत जस्तो भएको छ ।
पालिकाको अन्यतिर मुख्य सडक पानी पिचसम्म भइसकेको अवस्थामा खरुवाखेरा खरेट्टी सडकलाई जनप्रतिनिधिले उपेक्षा गरेको स्थानीय सागर चौधरीको आरोप छ । खरुवाखेरा खरेट्टी जोड्ने बाटोलाई प्रत्येक वर्ष मर्मत गर्दै आएको जनप्रतिनिधिको दाबी छ ।
अहिलेसम्म यही एउटै सडक मर्मतमा ४०/५० लाख रुपियाँ खर्च गरिसकेको वडाध्यक्ष प्रेमबहादुर चौधरीले बताउनुभयो । “यो धनगढी उपमहानगरपालिकाको पच्चिस घरदेखिसम्मको मुख्य बाटो हो । यो बाटो भएर ढुङ्गा, गिट्टी, बालुवा बोक्ने ठुला सवारीसाधन गुड्छन्,” उहाँले भन्नुभयो, “त्यसैले पानी पर्नेबित्तिक्कै बाटो दबिन्छ र पानी जमेर हिलो हुन्छ ।”