• १६ भदौ २०८१, आइतबार

गाउँमै रोजगारी पहिलो प्राथमिकता : नेता पौडेल

blog

वरिष्ठ नेता पौडेल गृहनगरमा भोट माग्ने क्रममा । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की 

तनहुँ, कात्तिक १४ गते । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँमै आम्दानी र रोजगारी दिने कार्य आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको छ । 

तनहुँ –१ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार समेत रहनु भएका नेता पौडेलले तनहुँको आँबुखैरेनी गाउँपालिका –४ सिङचाङमा आइतबार आयोजित घरदैलो कार्यक्रमको सुरुवात गर्दै उहाँले सो कुरा बताउनुभएको हो । सुशासनको जग बसाउने र गाउँमा रोजगारी र आम्दानी दिने काम बाँकी रहेकाले चुनावको मैदानमा आएको पौडेलले बताउनुभयो । 

‘देशलाई सुशासन दिएर विकास गरेर यो देशका युवालाई विदेशिन नपर्ने, यही रोजगारीको सिर्जना गर्नु मेरो पहिलो प्राथमिकता हो’ नेता पौडेलले भन्नुभयो । गाउँमा सडक, विद्यालय, बिजुली, पानी र स्वास्थ्य केन्द्र पुगेर पनि आम्दानी र रोजगारी दिन बाँकी रहेकाले सक्रिय राजनीतिमा लागेको पौडेलले बताउनुभयो ।

माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा तनहुँ क्षेत्र नम्बर १ प्रदेश ‘ख’ का सत्ता गठबन्धनका उम्मेदवार हरिबहादुर चुमानले नेपाली जनताको बलिदानी र त्यागबाट प्राप्त उपलब्धिको रक्षाका लागि गठबन्धन गर्नुपरेको बताउनुभयो । वरिष्ठ नेता पौडेलले दोस्रो चरणको घरदैलो अभियान सुरु गर्नुभएको छ । पौडेलले आइतबार देवघाट गाउँपालिकाको विभिन्न वडामा घरदैलो कार्यक्रम गर्नुभएको थियो । 

कात्तिक १४, १५, १६ र १७ गते आँबुखैरेनी गाउँपालिका, कात्तिक १९, २० र २१ गते बन्दीपुर गाउँपालिकामा घरदैलो कार्यक्रम गर्ने कांग्रेस तनहुँको क्षेत्र नम्बर १ का सभापति श्याम मौरतीले जानकारी दिनुभयो ।