• १६ भदौ २०८१, आइतबार

पालिकामा प्राविधिक शिक्षा

blog

बागलुङ समाचारदाता

बागलुङ, कात्तिक १४ गते । नेपाल कम्युनिस्ट पार्टी एमाले बागलुङले प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवार निर्वाचित भएमा जिल्लाका सबै स्थानीय तहमा प्राविधिक क्याम्पस स्थापना गर्ने घोषणा गरेको छ। 

विपन्न नागरिकका छोराछोरीले आफ्नै गाउँघरमा प्राविधिक शिक्षा पढ्न पाउने र जिल्लामा प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ दसवटै स्थानीय तहमा प्राविधिक तथा इन्जिनियरिङ क्याम्पस सञ्चालन गर्ने घोषणा गरेको हो। 

दुई प्रतिनिधि सभा र तीन प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिएको एमालेले प्रत्येक स्थानीय तहलाई समेट्ने गरी एक/एक वटा बहुप्राविधिक शिक्षालय सञ्चालन, धौलागिरि बहुमुखी क्याम्पसलाई नयाँ र प्राविधिक विषय पढाइ हुने गरी विश्वविद्यालयमा परिणत गर्ने जनाएको छ। 

त्यस्तै गलकोट बहुमुखी क्याम्पस, निसीभुजी जनता क्याम्पस, शान्तिदीप बहुमुखी क्याम्पस, भीमसेन क्याम्पस र सर्वाेदय क्याम्पसमा स्नातकोत्तर तहसम्मका कक्षा सञ्चालन तथा तमानखोला, ताराखोला, निसीखोला र बडिगाड गाउँपालिकामा एक/एकवटा क्याम्पस सञ्चालन गर्ने घोषणा गरेको छ।

मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ खण्डमा बाँकी रहेको सडक तत्काल कालोपत्रे गर्न पहल गर्ने, प्रत्येक गाउँ र नगरपालिकाको केन्द्रदेखि सबै वडामा सडक सञ्जाल विस्तार गर्ने, बागलुङ नगरपालिकाको बलेवा क्षेत्रमा आयात निर्यात केन्द्रको सहजीकरण गर्ने जारी घोषणा पत्रमा उल्लेख छ। 

बागलुङ बजार, पैँयुपाटा, कुश्मिसेरा, खहरे, अक्षेते, बिहुँ, सुल्डाँडा, रिजालचोक, हटिया, खरवाङ र बुर्तिवाङ क्षेत्रलाई व्यापार केन्द्रका रूपमा विकास गर्न व्यवस्थित सहरीकरण तथा पूर्वाधार विकासमा जोड दिने एमाले निर्वाचन परिचालन कमिटी क्षेत्र नं. १ (क)का संयोजक इन्द्रलाल सापकोटाले बताउनुभयो। 

बागलुङ बजार–कुँडुले त्रिपतिचोक–मालिका–तितौरे–खोलाखेत–न्वार–सिगाना तित्याङ–भकण्डे–भकुण्डे–रायडाँडा–अमलाचौर–पैँयुपाटा, नारायणस्थान हुँदै बागलुङ बजारसम्मको चक्रपथ निर्माण गरिने जनाएको छ। पञ्चकोट, भकुण्ड, घुम्टेको धुरीलगायतका पर्यटकीय क्षेत्रमा केबलकार तथा फिल्म सुटिङ सेन्टर निर्माण गर्ने घोषणा गरिएको छ। 

स्वास्थ्यतर्फ बागलुङ नगरपालिकामा एउटा मेडिकल कलेज र अन्य स्थानीय तहमा विशेषज्ञ सेवासहितको अत्याधुनिक स्वास्थ्य सुविधायुक्त अस्पताल निर्माण गर्ने घोषणा गरिएको छ। 

आफ्ना उम्मेदवारले जितेमा एक वर्षमा एक पटक ज्येष्ठ नागरिकको निःशुल्क पूर्ण स्वास्थ्य परीक्षण गरिने निर्वाचन परिचालन कमिटीका संयोजक सापकोटाको भनाइ छ। एमाले जिल्लाका सबै वडामा एकवटा एम्बुलेन्स व्यवस्थापन गर्ने घोषणा गरेको छ। 

खेलकुदतर्फ प्रत्येक वडामा खेल मैदान, बहुउद्देश्यीय कवर्ड हल निर्माणको हुने प्रतिबद्धता जनाएको छ। महिलालाई सुरक्षा र सम्मानको प्रत्याभूति, उद्यमशीलताको ग्यारेन्टी, भूमिहीन र सुकुम्बासी सबैको हातमा लालपूर्जा, सहुलियत दरमा कर्जा, किसानलाई पेन्सन, बीउदेखि ढुवानीसम्म अनुदानको व्यवस्था गर्ने जनाएको छ। 

घरघरमै स्वास्थ्य सेवा र विशेष भत्ता, व्यावसायिक सुरक्षा, सञ्चालन, कर प्रणालीमा सरलता, निःशुल्क इन्टरनेट, गुणस्तरीय शिक्षा, रोजगारी र प्रविधिमैत्री जिल्लाको अनुभूति, जहाँ विभेद, उत्पीडन र विपत्ति, त्यहाँ नेकपा (एमाले)को उपस्थितिजस्ता कार्यक्रम सञ्चालन हुने घोषणापत्रमा उल्लेख गरिएको छ।