• १६ भदौ २०८१, आइतबार

खेतबारीमा उम्मेदवार किसान उत्साही

blog

ठाकुरप्रसाद आचार्य 

म्याग्दी (बेनी), कात्तिक १४ गते । किसानलाई बाली भित्र्याउन भ्याइनभ्याइ छ। यता उम्मेदवारलाई पनि चुनावी प्रचारप्रसारको हतारो छ। मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका उम्मेदवार किसानको खेतबारीमा पुगेर मत माग्न थालेका छन्। 

राजनीतिक दलका नेता र उम्मेदवाहरू खेतबारीमा पुग्न थालेपछि कृषकहरू पनि उत्साही छन्। गाउँघरमा बिरलै पुग्ने नेताहरू यतिखेर खेतबारीमै पुगेर गुनासाहरू सुन्न थालेपछि किसान उत्साही भएका हुन्।  

म्याग्दीको ग्रामीण भेगतिर उम्मेदवारहरू किसानले लगाएको कोदो र धान बारीमा देखिने गरेका छन्। किसानहरूले उम्मेदवाहरूसँग कृषि पेसाको आधुनिकीकरण, मल तथा बीउबिजनको सुलभता र कृषि उपजको बजारीकरण गर्ने नीति बनाउन सुझाव दिएको नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठले बताउनुभयो। 

खेतबारीमा भएका किसानका गुनासाहरू सुन्ने र आफ्ना योजना सुनाउन सहज भएको सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार खमबहादुर गर्बुजाले बताउनुभयो। किसानको खेतबारीमा नेताहरू पुग्न थालेपछि मतदाताहरू पनि उत्साही भएको उहाँले बताउनुभयो।  

पहिलो चरणमा घरदैलो र कार्यकर्ता भेटघाटको कार्यक्रम लिएर दलका नेता र उम्मेदवारहरू यतिखेर गाउँ पसेका छन्। उम्मेदवार गाउँ छिरेपछि निर्वाचनको माहोल बनेको छ। कृषकहरूले खेतबारीमै राजनीतिक दल र उम्मेदवारका चुनावी एजेन्डाका बारेमा छलफल गर्ने गरेका छन्। 

नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार बन्नुभएका श्रेष्ठ प्रदेश निर्वाचन क्षेत्र नं. (क)का उम्मेदवार देवेन्द्रबहादुर केसी र (ख)का उम्मेदवार यामबहादुर गर्बुजासहितको टोली मत माग्न घरदैलो अभियानमा हुनुहुन्छ। यस्तै सत्ता गठबन्धनबाट प्रतिनिधि सभामा उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका गर्वुजा र प्रदेश सभा (क)मा उम्मेदवार बन्नुभएका नेकपा माओवादी केन्द्रका हरिबहादुर भण्डारी र (ख)मा उम्मेदवार बन्नुभएका रेशम जुग्जालीसहित निर्वाचन प्रचारप्रसारको टोलीसहित घरदैलो अभियानमा केन्द्रित हुनुभएको छ। 

सत्ता गठबन्धनकातर्फको मूल निर्वाचन परिचालन समितिका संयोजक कर्णबहादुर भण्डारी (केवी)ले पहिलो चरणमा उम्मेदवारसहित घरदैलो अभियान लिएर मतदाताको घरमा पुग्ने कार्यक्रम सञ्चालन गरेको बताउनुभयो।