• १६ भदौ २०८१, आइतबार

गण्डकी विश्वविद्यालय बेलचौतारामा

blog

तनहुँ समाचारदाता

तनहुँ, कात्तिक १४ गते ।  गण्डकी विश्वविद्यालयको मुख्य कार्यालय शुक्लागण्डकी नगरपालिका–५ स्थित बेलचौताराबाट सञ्चालनको तयारी भएको छ।

विश्वविद्यालय सञ्चालनका लागि नगरपालिकाले गौरवको योजनामा समावेश गरी आवश्यक सञ्चालन कार्य अघि बढाइएको नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले जानकारी दिनुभयो। सो स्थान चयनका लागि गठित कार्यदलले बेलचौतारास्थित भानुभक्त क्याम्पससँगैको स्थान उपयुक्त हुने भएकाले सञ्चालनका लागि पहल कदमी गरिएको पण्डित बताउनुहुन्छ। वडा नम्बर ५, ८, ९, र २ मा सार्वजानिक जग्गा पर्याप्त रहेकाले विश्वविद्यालय सञ्चालनका लागि पहल गरिएको हो। 

नगरप्रमुख पण्डितले विश्वविद्यालय सञ्चालनका लागि मापदण्डअनुसारको जमिन भएकाले सबै पूर्वाधारहरू बनाउन आग्रह गरिएको बताउनुभयो। सो विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङ नेतृत्वको टोलीले स्थलगत निरीक्षणका क्रममा सार्वजनिक जमिन धेरै भएकाले सो स्थानमा सञ्चालनको सम्भावना देखाएको हो। 

प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई महत्व दिँदै गण्डकी विश्वविद्यालयलाई एउटा शिक्षण अस्पतालसहित चिकित्सा विज्ञान शिक्षण कार्यक्रम पनि समावेश गर्ने कार्यअनुसार काम भइरहेको शुक्लागण्डकी नगरपालिकाले जनाएको छ।  

विश्वविद्यालयका लागि आवश्यक जमिन सहज रूपमा उपलब्ध गराउन अतिक्रमण गरेर बनाइएका संरचना हटाउन नगरपालिकाले ३५ दिनको सूचना जारी गरिसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लीलाबल्लभ न्यौपानेले जानकारी दिनुभयो। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा (२)मा सार्वजनिक ऐलानी तथा पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा र भौतिक पूर्वाधारको संरक्षण तथा सुरक्षाको जिम्मेवारी नगरपालिकाको हुने भएकाले ती संरचना हटाउने निर्णय गरिएको नगरपालिकाले जनाएको छ। 

सार्वजनिक जग्गा प्रयोग गरी सञ्चालन गरिएका व्यापार तथा व्यवसाय, सडकको क्षेत्राधिकारभित्र सञ्चालन भएका व्यवसाय, सार्वजनिक जग्गा, राजमार्ग तथा भित्री सडक ओगटी गरिएका निर्माण कार्य, सार्वजनिक जग्गा तथा सडकको क्षेत्राधिकारभित्र सञ्चालित ठेलागाडा तथा घुम्ती सवारीसाधन हटाउन आग्रह गरिएको छ। 

विश्वविद्यालय सञ्चालनका लागि पोखरा महानगरपालिका–३२ स्यालटारमा ७५० रोपनी र तनहुँको शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा आठ सय रोपनी क्षेत्रफल जग्गा प्राप्तिको प्रक्रिया अघि बढाइएको छ। गण्डकी प्रदेश पर्यटनको उत्कृष्ट गन्तव्य भएकाले विश्वविद्यालयले विज्ञान प्रविधिका साथसाथै ‘पर्यटन समाजशास्त्र,’ ‘अतिथि सत्कार,’ ‘हाइड्रोपावर’जस्ता विषयलाई प्राथमिकतामा राखेको कुलपति गुरुङ बताउनुहुन्छ। 

प्रदेश सरकारले गण्डकी विश्वविद्यालय स्थापना, सञ्चालन र व्यवस्थापन गर्न बनेको विधेयक २०७६ पारित गरेको थियो। जीवनपयोगी मूल्यमान्यतामा आधारित राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्षम र नेतृत्वदायी जनशक्ति तयार गर्न गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले ऐन पारित गरी गण्डकी प्रदेश सरकारले विश्वविद्यालय स्थापना गरेको थियो।